कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
287

हेटौंडा- सरकारले केही दिनअघि नियुक्त गरेको प्रदेश–३ का प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार दिउँसो एक कार्यक्रमका बीच प्रसाईंलाई स्वागत गरिएको थियो । स्वागतपछि हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका थिए ।
प्रदेशका मन्त्रीहरु, कर्मचारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायतले प्रसाईंको स्वागत गरेका थिए । पदभार ग्रहणपछिको परिचयात्मक कार्यक्रममा बोल्दै प्रसाईंले संविधानको पूर्ण पालना गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । आफ्नो कार्यकाल सफल बनाउन सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको उनको भनाइ थियो । मुख्यमन्त्री डोरमणि पौडेल भने कार्यक्रममा अनुपस्थित थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रीले प्रदेश प्रमुखलाई स्वागत गरेका थिए ।

झापा जिल्ला मेचीनगर नगरपालिका–११ स्थायी निवासी प्रसाईलाई कात्तिक १८ गते सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । प्रसाईं २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा झापा मेचीनगर नगरपालिकाका मेयर पदमा पराजित भएका थिए । उनी कांग्रेसका विमल आचार्यस“ग पराजित भएका थिए ।
प्रदेशसभाको निर्वाचनपछि तत्कालीन नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकारले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेका थियो । सबै प्रदेशका प्रमुखलाई पदमुक्त गरी वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । यसअघिका प्रदेश प्रमुख अनुराधा कोइरालाले २०७४ माघ ५ गते कार्यभार सम्हालेकी थिइन् । प्रदेश प्रमुखको रुपमा कोइरालाले प्रदेशसभाबाट पारित भएको ४५ वटा कानुन प्रमाणीकरण गरेकी थिइन् । प्रदेशसभामा कोइरालाले तीन वटा नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेकी थिइन् ।
यस्तै गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले पनि बुधबारै पदबहाली गरेका छन् ।