कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
347

पोखरा- कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाली कांग्रेसले पनि उमेदवारको टुंगो लगाएको छ । कास्की कांग्रेसले जिल्लाबाट पठाएको १६ जनाको नामबाट कास्कीका पुराना नेता खेमराज पौडेललाई केन्द्रले उमेदवार छनौट गरेको हो ।
पोखरा–२२ पुम्दी भुम्दीका पौडेल लामो समयदेखि कांग्रेसमा लाग्दै आएका छन् । सामाजिक सञ्जालमा यसअघि धनराज गुरुङ कास्कीबाट उमेदवार हुने चर्चा भएसँगै धनराजले आफू नउठ्ने इच्छा जनाएका थिए ।

बिहीबार (आज) उमेदवारहरुको जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुने भएको छ । उमेदवार दर्ता गर्न बिहान ११ः३० बजे पोखरा सभागृहमा भेला भई जुलुससहित मनोनयन दर्ता गर्ने कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए ।
नेकपासहितका अन्य पार्टी हाल चुनावी मैदानमा घरदैलो कार्यक्रममा जुटि सकेका छन् । नेकपा कास्कीबाट विद्या भट्टराई, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, विवेकशील नेपाली दलका जमुना शर्मा उमेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।
कांग्रेस पदाधिकारी बैठकले प्रदेशसभातर्फ बागलुङ–२को (ख)मा जित शेरचन, दाङ–३ (ख) मा केशव आचार्य र भक्तपुर–१ (क) मा कृष्ण भडेललाई उमेदवार बनाउने निर्णय गरेको छ ।