कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
476

दाङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ५ को केन्द्र दाङ बन्न पहल थाल्ने प्रतिबद्धता जनाएका छन् । प्रेस संगठन दाङले बुधबार बिहान घोराहीमा आयोजना गरेका पत्रकार सम्मेलनमा प्रदेशको केन्द्र दाङ बन्ने भन्दै प्रदेशको राजधानी दाङ राख्न उपयुक्त भएको बताए ।
अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको समेत बताएका छन् । उनले उपनिर्वाचन सफल बनाउन नेताकार्यकर्तालाई लाग्न अनुरोध समेत गरेका छन् ।

फरक प्रसंगमा प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको बताए । प्रचण्डले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ती गरेको टिप्पणी गरे ।
“महराजीले अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो । घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठायौं । तर उहाँले सही कुरा बताउनु भएन । म आफैं जाँदा पनि उहाँले सही कुरा बताउनुभएन । यो उहाँको अर्को गम्भिर गल्ती भयो,” उनले भने ।
फरक प्रसंगमा प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए । उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो विषयमा कुरा भनेको स्मरण समेत गराए ।
त्यस्तै प्रचण्डले परिवर्तन विरोधीहरु सलवलाउँदा, शान्ति प्रक्रिया विरुद्ध निर्णयहरु हुँदा र जनतासँग जोडिएका सवालहरुमा उनीहरुको साथ दिँदा फरक माहोल बनाउनका लागि बेलाबेलामा आन्दोलनको कुरा गरेको बताए ।