कारोबार संवाददाता
सोमवार, आश्विन १३, २०७६
510

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद, ल्होछारका अवसरमा चियापान कार्यक्रम गर्ने भएको छ । नेकपाले कोजाग्रत पूर्णिमाको पर्सिपल्ट असोज २९ गते भृकुटीमण्डपमा चियापान आयोजना गर्न लागेको हो ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकले एक लाख जनालाई आमन्त्रित गर्नेगरी निमन्त्रणा कार्ड पठाउने निर्णय गरेको नेकपाले जनाएको छ । एमालेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले चियापान संस्कृतिको शुरूआत गरेका थिए । तत्कालीन एमालेले हरेक वर्ष कोजागत पूर्णिमाको भोलिपल्ट चियापान गर्ने गरेको थियो । अघिल्लो वर्ष पनि एमालेले भृकुटीमण्डपमै चियापान कार्यक्रम आयोजना गरेको थियो ।
यस वर्षको चियापानमा विपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने दल, मन्त्री, सांसदहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरू, नेपालस्थिल अन्तर्राष्ट्रिय मिसन प्रमुख, उद्योगी, व्यवसायी, कलाकार आदि निम्त्याइएको नेकपाले जनाएको छ ।