कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६
485

प्यूठान-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मुलुक समृद्धि र विकासको बाटोमा अगाडि बढेको दाबी गरेका छन् । फास्ट ट्रयाक, सुरुङमार्ग, वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलजस्ता महत्वपूर्ण योजनाहरु अगाडि बढेको उल्लेख गर्दै उनले केही वर्षमै मुलुक समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने बताए ।
सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको भवन उद्घाटनका लागि प्यूठान आएका मुख्यमन्त्री पोख्रेलले संविधान जारी भएसँगै देशको कुल ग्रार्हस्थ्य उत्पादनको वृद्धिदरमा समेत परिवर्तन भएको उल्लेख गरे । “चार प्रतिशतमा रहेको जिडिपी अहिले दोब्बर अंकमा वृद्धि भएको छ,” उनले भने ।
संविधान जारीसँगै विकासका अवरोधहरु हटेको उल्लेख गर्दै उनले देशको सम्पन्नता र जनताको जीवनस्तर उकास्ने गतिविधिलाई सरकारले प्राथमिकता दिएको बताए । “विकासका जेजे अवरोधहरु थिए, ती अवरोध सबै पन्छाइसकेका छौं,” मुख्यमन्त्री पोख्रेलले भने, “राजनीतिक रुपमा विकास र समृद्धिका सबै अधिकारहरु जनताले पाइसकेका छन् ।” मुलुक सम्पन्न नहँुदासम्म अधिकार र परिवर्तनलाई व्यवहारमा बदल्न नसकिने हुँदा संविधानको सफल कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो ।
विरोध र कुण्ठाको राजनीतिक संस्कार बढेको बताउँदै उनले यसखालको प्रवृत्तिले मुलुकलाई निकास दिन नसक्ने बताए । “सरकारले काम गर्न सकेन भनेर विभिन्न भ्रमहरु छरिँदै छ,” उनले भने, “सरकार अघि बढिसकेको छ । विरोध गर्नुको कुनै औचित्य छैन ।” प्रतिगमनको फाइदा लिनेहरु नेपाली समाजलाई भड्काउन लागिरहेको उनको आरोप थियो । भ्रम र कुण्ठाले कुनै पनि दल र व्यक्ति सफल नहुने उनले बताए ।

को हुन् सहिद थापा ?
प्यूठान बरौलामा जन्मिएका थापा जनआन्दोलन ०६२-०६३ का प्रथम सहिद हुन् । शाही सरकारको विरुद्धमा चलेको संयुक्त जनआन्दोलनमा सहभागी हुँदा दाङको घोराहीमा राज्यपक्षबाट चलेको गोली लागि उनको मृत्यु भएको थियो ।
तत्कालिन नेकपा एमालेका समर्थक रहेका उनी दाङमा अफसेट प्रेस व्यवसायमा संलग्न हुँदै आएका थिए । थापाको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरी प्यूठान बिजुवारमा भवन निर्माण गरिएको छ ।
विभिन्न निकायको सहयोग गरी भवन निर्माण गरिएको प्रतिष्ठानका सचिव इन्द्रमणि पोख्रेलले बताए । जनआन्दोलनमा सहभागी हुँदा तत्कालीन सरकार पक्षवाट गोली लागि उनको मृत्यु भएको थियो ।