कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
619

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकीकरण सरकारमा बस्ने र छोड्ने शर्तमा एकीकरण नहुने समाजवादी पार्टीका नेताहरूको बुझाइ रहेको छ । दुबै दलबीचको एकीकरणका लागि एक अर्काका नेताहरूबीच छलफल भइरहेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य तथा वार्ता समितिका संयोजक राजेन्द्र महतोले सरकार छाडेमात्र एकता हुने भनी आएको टिप्पणीप्रति उनीहरूको यस्तो धारणा सार्वजनिक भएको हो ।

समाजवादी पार्टीको राजनीतिक समितिका सदस्य डा. शिवजी यादवले सरकार छाड्ने शर्तमा एकता नहुने बताए । उनले भने, “सरकारमा बस्ने र छाड्ने विषय राजनीतिक हो । पार्टी एकीकरणपछि बन्ने नयाँ पार्टीले तय गर्ने आधारमा सरकारमा बस्ने र छाड्ने निर्णय हुने हो ।”
दुवै पार्टीबीचको अनौपचारिक छलफल भइरहेको छ । दुवै पक्षका नेताहरू एकीकरण गर्नुपर्नेमा सहमत भएको उनको भनाइ थियो । पार्टीका महासचिव रामसहाय यादवका अनुसार राजपाले समाजवादी पार्टीले पार्टी एकीकरणपछि सरकारबाट हट्ने निर्णय गर्ने विषयमा सहमति जनाएर वार्ताको छलफल अगाडि बढाएको हो ।
राजपा वार्ता समितिका नेता महतोले बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सरकार छाडेर आएमात्र एकीकरण हुने बताएका हुन् ।
महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताएका थिए । जनताको भावनालाई सम्मान गर्न मधेशवादी ६ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने उनको भनाइ थियो । महतोले भने, “अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो शर्त छ । देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको आवश्यकता रहेकोले त्यो आवश्यकता एकता पछि पूरा हुने विश्वास छ ।” तर, समाजवादी पार्टी यो शर्तमा एकीकरणलाई अगाडि बढाउन इच्छुक देखिएको छैन ।
समाजवादी पार्टीका एक नेताका अनुसार त्यसै पनि संशोधनको विषय अर्को संसदीय सत्रसम्मका लागि टरेको छ । यसबीचमा पार्टीभित्र राजनीतिक छलफल गरी सरकारबाट कहिले हट्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । सम्भवतः महतोले यही विषयलाई देखेर दबाब दिन भनेको हुन सक्ने उनले जनाए ।
उनी भन्छन्, “सरकार छोड्यो अनि राजपाले एकीकरण लम्ब्यायो अनि के राजनीति गर्ने ? त्यसै पनि राजपाका नेताहरूले सरकारमा जान अध्यक्ष मण्डलका महन्थ ठाकुरलाई संयोजकबाट हटाएर चक्रिय प्रणाली कायम गरेको लगाएको आरोप धेरै भएको छैन ।”
नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म विरोध भई रहने हुँदा यसको रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताए ।