धर्मेन्द्र कर्ण
मंगलबार, भदौ ३१, २०७६
468

समाजवादी पार्टी नेकपासँग नजिकिएर जाने देखिएको राजपाका नेताहरूले बताएका छन् । पार्टीले सार्वजनिक गरेको नीतिले यस्तो स्पष्ट संकेत गरेको उनीहरूको भनाइ छ ।
संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी पार्टीको बोली मिलेको उनीहरूले बताएका छन् । संविधान संशोधनका विषयमा तत्कालीन एमालेका अध्यक्ष प्रधानमन्त्री ओली र एमाले नेताहरूले आवश्यकता र औचित्यका आधारमा संशोधन गरिने बताउने गरेका थिए ।

अहिले आएर समाजवादी पार्टीले सो कुरो बोल्न थालेको राजपा नेताहरुको भनाइ छ । यहि बेला समाजवादी पार्टीभित्रको एक समूहले असोज ३ गतेको विषयमा अर्को निर्णय गर्न छलफललाई तीव्र बनाएको पार्टी स्रोतले जनाएको छ । सरकारबाट पार्टी हटेर आन्दोलनमा जाने बाटोमा रहेका पार्टीका नेताहरूले पार्टीको निर्णयबाट चित्त बुझाउन सकिरहेका छैनन् ।
गत वर्ष विरोधको नेतृत्व गर्ने रेणुकुमारी यादवलगायत केही नेताहरू मौन बसिदिएकाले उनीहरूलाई अप्ठयारो परेको हो । गत वर्ष तत्कालीन संघीय समाजवादी फोरमले गरेको निर्णयजस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग वैशाख २३ गते एकीकरण गरी गठित समाजवादी पार्टीले उस्तै निर्णय गरेको हो ।
समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको जानकारी गराउँदै एक विज्ञप्ति सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख प्रशान्त सिंहले भदौ ३० गते सोमबार जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । पार्टीले संविधानमा त्रुटि भएको स्वीकार गरेपनि तत्काल आन्दोलन नगर्ने लाइन लिएको देखिएको छ । विज्ञप्तिमा भनिएको छ,“ विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेकोले जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशियालीको रूपमा दीपावली र विरोधको रूपमा कालो दिवस दुबै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि नहुने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।”
त्यो दिन पार्टीले दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयमा अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ । उता संविधान दिवसलाई कालो दिनको रूपमा मनाएर विरोध गर्ने निर्णय गरेको राष्ट्रिय जनता पार्टीका नेताहरूले समाजवादी पार्टी नेकपामा मिल्न लागेको संकेत देखिएको बताएका छन् ।
समाजवादी पार्टीको एकीकरणका बेला नयाँ शक्तिले संघीय समाजवादी पार्टीका नेतालाई सरकारबाट बाहिरिन भनेको थियो । त्यतिखेर आन्दोलन गर्ने र संविधान दिवसलाई कालो दिवस मान्नेहरूले यो पटक संविधान संशोधनका लागि आन्दोलनको माध्यमबाट दबाब दिने योजना बनाएका थिए । उनीहरूले पार्टीको यो निर्णय विरूद्ध कसरी र कसको नेतृत्वमा अगाडि बढने विषयमा छलफल अघि बढाएका छन् ।
गएको वर्ष पनि कालो दिवस मान्नेहरूले पार्टीको दबाबका कारण त्यसरी खुलेर विरोध गर्न पाएका थिएनन् । तर विरोध गर्ने विज्ञप्ति जारी भएको थियो ।
राजपाका नेताहरूले समाजवादी पार्टीले सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयमा अन्तरक्रिया गर्नु भनेको पार्टी नेकपा निकट गएको स्पस्ट भएको बताएका छन् ।
पार्टीका महासचिव डा. सुरेन्द्र झाले ओलीले पनि संविधान संशोधनको विषयमा यस्तै कुरो बोल्ने गरेको र अहिले समाजवादी पार्टीले त्यही कुरो बोल्नुमा के फरक भयो भनेर प्रतिप्रश्न गरे । उनले भने, “हामीलाई पहिलेदेखि नै आंशका थियो तर यो विज्ञप्तिले स्पस्ट पारेको छ ।” तर यसका लागि अझ केही समय पर्खनुपर्ने उनको भनाइ थियो ।
नेकपा नेता देवेन्द्र पौडेलले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गरिने बताए । उनले भने, “आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सरकार तयार छ ।”