कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
441

बाँकेको खजुरामा गत बिहीबार भएको घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको सोमबारको बैठकमा तनाव सिर्जना भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए । सांसदहरुले आधा घण्टाभन्दा बढी बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक असोज १ गते बुधबारसम्मलाई स्थगित गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरुले आफ्नो आसनबाट उठेर बैठक अगाडि बढाउन दिएनन् । त्यसपछि सभामुखले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए ।

भुसालले बाँके घटनामा संलग्न सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसद सुचारू गर्न तयार रहेको बताएकी थिइन् । लगत्तै बाँकेबाट प्रतिनिधित्व गर्ने सत्तापक्ष नेकपाका सांसद नन्दलाल रोकायाले खजुरा नगरपालिका–१ का वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रममा कुनै धक्कामुक्का नभएको भन्दै बचाउ गरे । त्यसपछि कांग्रेसका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।
वडाध्यक्ष सुमन मल्ल निर्दोष रहेको दाबी गर्दै रोकायाले बाँके घटनालाई लिएर कांग्रेसले आन्दोलन गरे नेकपाले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए । “एकदम बेकसुर छ ऊ । त्यो वडाध्यक्षलाई मुद्दा लगाउने भन्ने कुरा कदापि सहन सक्दैनौं । यदि नेपाली कांग्रेसले आन्दोलनै गर्छ भने हामीले पनि आन्दोलन गर्छौं । आन्दोलन किन नगर्ने ? हामी सत्य कुरामात्रै स्वीकार्छौं । असत्य कुरा कुनै हालतले पनि स्वीकार्दैनौं,” उनले भने ।
संसदीय छानविन समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी पत्ता लगाउनुपर्ने उनको माग थियो । “समिति विनाको कारवाही मान्य हुँदैन । समिति गठन गरेर छानविन गर्नुपर्छ । छानविन गरिसकेपछि को कारवाहीमा पर्छ, दोषी को ठहर्छ त्यो काम गर्नुपर्छ,” सांसद रोकायाले भने ।
रोकायाको भनाइपछि आक्रोशित सांसदहरुले नाराबाजी गरेका हुन् । सभामुखले पटक पटक बस्न आग्रह गरे पनि उनीहरुले नाराबाजी जारी राखेका थिए । गत बिहीबार बाँकेको खजुरामा आयोजित कांग्रेसको जागरण अभियानमा नेकपाका कार्यकर्ताहरुले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । सो विषयलाई लिएर दोषीमाथि कारवाहीको माग गर्दै कांग्रेसले प्रदर्शन गर्दै आएको छ ।