धर्मेन्द्र कर्ण
बिहिवार, भदौ २६, २०७६
417

राजपा–समाजवादी पार्टी एकता

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) को बीच अध्यक्ष मण्डलकै संरचनामा एकीकरण गर्ने विषयमा छलफल भइरहेको पार्टी निकट नेताहरूले जनाएका छन् । राजपा निर्माण हुने बेलामा तत्कालीन संघीय समाजवादी फोरमलाई पनि एकीकरणमा ल्याउने प्रयास भएको थियो ।
फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलाई तत्कालीन संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले एकीकरणका लागि प्रस्ताव गरेका थिए । राजपा एकीकरण हुँदा सुरुमा पाँच पार्टीको मात्र ठोस पलह भएको थियो । सद्भावना एकीकरणका क्रममा छुटेको थियो । राजपाका एक नेताले एकीकरणको स्मरण गराउँदै भने, “त्यतिखेरको एकीकरण ब्यानरमा अनिल झाको फोटो त्यसैले छुटेको थियो । अनिल झासँग एकीकरणको कुरा चलिरहेको थियो । त्यसैले अध्यक्ष मण्डलका कुनै नेतालाई बाहिर राखेर गरिने एकीकरण मान्य हुँदैन ।”

उनका अनुसार अध्यक्ष मण्डलको संरचनामा जान त्यतिखेर अप्ठ्यारो थियो । तर सबै पार्टीका अध्यक्षहरूलाई राखेर अध्यक्ष मण्डलको संरचना बनाइएको थियो । अध्यक्ष मण्डलको संरचनाले गर्दा पार्टीमा जुनियर र सिनियरको विवादका कारण पुराना नेताहरू पार्टी छोडेर गएका थिए । तीमध्ये हृदयेश त्रिपाठी लगायतका नेताहरूको बहिर्गमन भएको उनको भनाइ छ । तर कतिपय वरिष्ठ नेताहरू अध्यक्ष मण्डलको संरचनालाई स्वीकार गरी राजपामा बसे । त्यही एकताको आधारमा सम्पन्न निर्वाचनमा भाग लिएर राजपा अध्यक्ष मण्डलका सबै सदस्यहरूसँगै अन्य नेताहरू पनि प्रतिनिधिसभामा निर्वाचित भएर आएका छन् ।
ती नेता भन्छन्, “समस्या समाजवादी पार्टीमा पनि छ । नेताहरूको समायोजन पार्टीभित्र हुनु स्वाभाविक हो । तर नयाँ शक्ति र संघीय समाजवादी पार्टीको जस्तो एकीकरण राजपा र समाजवादीको हुँदैन । राजपा तेस्रो दल बनेको छ । त्यसैले अलि फरक खालको एकीकरण हो यो ।”
अध्यक्ष मण्डलको संरचनाबाटै राजपा तेस्रो ठूलो पार्टी बनेको हो । त्यसैले समाजवादी पार्टीसँगको एकीकरण मोडेल यस्तै हुनुपर्ने बुझाइ कतिपय नेताहरूको छ ।
सम्मानजनक र समानताका आधारमा समाजवादी पार्टी र राजपाबीचको एकीकरण हुनुपर्ने राजपाका नेताहरूले भनिरहेको विषय के हो भनी सोधिएको प्रश्नमा ती नेताले भने, “अध्यक्ष मण्डलका नेताहरू सम्मिलित अध्यक्ष मण्डलकै संरचनामा जानुपर्छ । दुवै पार्टीका निर्वाचित शीर्ष नेताहरू र राजपाका निर्वाचित शीर्ष नेताहरूलाई मिलाएर एक शीर्ष संरचना बनाउँदा एकीकरण सहज होला ।”
राजपा संयोजक राजकिशोर यादव एकीकरणको जिम्मा वार्ता टोलीका सदस्यहरूलाई दिइएको बताउँछन् । कुनै खाका दिएर वार्ता टोलीलाई पठाउनुभएको हो ? भनी सोधिएको प्रश्नमा संयोजक यादवले भने, “त्यस्तो कुनै खाका दिएर पठाइएको छैन । तर सम्मान र समानताका आधारमा एकीकरणलाई टुंगो लगाउन भनिएको छ ।”
संयोजक यादवले थपे, “राजपा एकीकरणका बेला जुन किसिमको अवधारणाका आधारमा मिलेर जाने भनिएको थियो, त्यस अनुरूप राजपाको एकीकरणमा जाने विषयमा वार्ता टोलीका सदस्यहरू जानकार हुनुहुन्छ ।” उनले मिडियामा आएजसरी कुनै खाकामा रहेर छलफल अघि नबढेको पनि जनाए ।
संयोजक यादवले सम्मान र एकताका आधारमा एकता जतिखेर टुंगिन्छ, त्यतिखेरै घोषणा हुने बताए । “दुई ठूला पार्टीबीचको एकतामा उत्पन्न समस्याबारे अनुभव लिँदै यो एकीकरण हुन्छ,” उनले भने ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरण अहिलेसम्म टुंगिएको छैन । यदाकदा नेताहरूको व्यवस्थापनमा असन्तुष्टि भइआएको देखिएकै बताउँदै संयोजक यादवले भने, “यी सबै अनुभवका आधारमा दुई पार्टीबीचको एकीकरण हुन्छ ।”


सातामा धेरै पढिएको