केशव समर्पण
बुधवार, भदौ २५, २०७६
264

हेटौंडा-प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र स्थायी राजधानी र नामकरणको विषय चाँडै नै टुंग्याइने प्रतिबद्धता दोहो-याएका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्दै मुख्यमन्त्री पौडेलले यसअघि कानुन तथा नीति निर्माणमै अल्झनुपरेकाले स्थायी राजधानी टुंग्याउन केही ढिलाइ भएको स्पष्ट पारे ।
“सत्ता र प्रतिपक्षका सांसदहरूले पटकपटक राजधानीका विषयमा प्रश्न गरिरहनुभएको छ । अब प्रश्न उठाउने दिन आउँदैन, यसमा विश्वास गर्नूस्, अब राजधानीको विषय चाँडै नै टुंगोमा पु-याउनेछौं । यसअघि कानुन र नीति निर्माणमा जुट्नुपरेकाले राजधानी र नामकरणको विषय केही ढिलो हुन गएको हो,” पौडेलले भने ।

मुख्यमन्त्री पौडेलले यसअघि पनि प्रदेशसभामा बोल्दै वर्षे अधिवेशन अवधिमै राजधानी र नामकरण टुंग्याउने प्रतिबद्धता जनाएका थिए । वर्षे अधिवेशन सकिन लाग्दा पनि राजधानीको विषय प्रवेश नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबारको प्रदेशसभामा राजधानीको विषय टुंग्याउन दबाब दिएका थिए । सोमबारको बैठकमा बानियाँले प्रदेश सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि स्थायी राजधानी र नामकरणको विषय टुंगो लगाउन नसक्नु लज्जास्पद भएको बताएका थिए । नेकपाभित्रको विवादका कारण प्रदेशले स्थायी राजधानी र नामकरण नपाएको उनको दाबी थियो । हरेक पार्टीभित्र विवाद भए पनि त्यसको असर सदनमा पर्न नहुने उनको तर्क थियो ।
यसअघि प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले पनि कार्यव्यवस्था परामर्श समितिमा राजधानी र नामकरणको विषयमा छलफल गरी सभामा लैजाने प्रतिबद्धता जनाएका थिए । सत्तापक्ष र प्रतिपक्षीको चर्को दबाबपछि स्थायी राजधानी र नामकरण टुंगो लगाउने कार्यविधि प्रदेशसभाबाट यसअघि नै पारित गराइए पनि थप प्रक्रिया भने सभामुखले अघि बढाएका छैनन् । प्रदेशसभाले पारित गरेको कार्यविधिअनुसार राजधानीको विषय प्रवेश गराउने जिम्मा सभामुखकै हातमा रहेको भन्दै कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले आफूहरूले अब निरन्तर दबाब दिइरहने स्पष्ट पारे । पछिल्लो समय सत्तापक्षकै सांसद्हरूले पनि प्रदेश राजधानी र नामकरणको विषयमा मुख्यमन्त्री र सभामुख उदासिन देखिएको भन्दै आलोचना गरिरहेका छन् । सत्तारुढ दल नेकपाकी प्रदेश ३ अध्यक्ष एवं प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले कर्मचारी र सरकारले अस्थायी मानसिकताले काम गरिरहेको बताइन् । राजधानी टुंग्याउनेबारे सरकार र सदन दुवै जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।
स्थायी राजधानीको लागि गठन भएको सम्भाव्यता अध्ययन विशेष समितिले २०७५ असोज २२ गते प्रदेशसभामा प्रतिवेदन पेस गरेको थियो । समितिका सभापति दीपक निरौलाको संयोजकत्वमा २०७५ वैशाख १४ गते गठित समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन पेस गरेको थियो । समितिले ५ वटा जिल्ला उपयुक्त रहने गरी प्रतिवेदन बुझाएको थियो । समितिले वर्णानुक्रमअनुसार ५ जिल्लालाई उपयुक्तता आधारमा प्रतिवेदनमा उल्लेख गरेको छ । काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई राजधानीका लागि उपयुक्त हुने प्रस्ताव समितिको प्रतिवेदनमा छ । सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनपछि राजधानी टुंगो लगाउने कार्यविधिसमेत पारित भइसकेको अवस्थामा पनि प्रदेशको स्थायी राजधानी र नामकरणको विषय सभामा प्रवेश हुन सकेको छैन ।