कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
330

झापा-नेपाली कांग्रेस झापाले झापाले पाँचवटा संसदीय निर्वाचन क्षेत्र र १० वटा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गरेको छ । भदौ २० गतेसम्म ७७ वटै जिल्लाका संसदीय तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति समायोजन सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुरुप गत १५ गते संसदीय निर्वाचन क्षेत्रका सभापति चयन गरिसकेको नेपाली कांग्रेस झापाले बिहीबार १० वटै निर्वाचन क्षेत्रका सभापति चयन गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको गत साउन २६ गते सम्पन्न बैठकले ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ७२ (४) बमोजिम पार्टीका स्थानीय तह संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएको भन्दै विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम निर्देशिका २०७६ पारित गरी लागू गरेपछि सबै संसदीय तथा प्रदेश क्षेत्रीय समिति समायोजन गरिएको हो ।

यसअन्तर्गत झापा क्षेत्र नं–१ को प्रदेश क को सभापतिमा हर्क फियाक र ख मा सिता पोखरेल चयन भएका छन् । यसैगरी झापा क्षेत्र नं–२ को क को सभापतिमा धर्म लक्सम्बा र ख को सभापतिमा किरण श्रेष्ठ चयन भएका छन्् ।
क्षेत्र नं–३ को प्रदेश क को सभापतिमा चिन्तामणि खरेल र ख को सभापतिमा नविन विमली चयन भए भने निर्वाचन क्षेत्र नं–४ क को सभापतिमा कमल भण्डारी र ख को सभापतिमा भीम राजवंशी चयन भएका छन् । त्यस्तै क्षेत्र नं ५ को क मा रोहितकुमार शाह र ख को सभापतिमा पदम लिम्बू चयन भए । सबै प्रदेश समितिका सभापति सहमतिमै चयन भएका हुन् ।
प्रत्येक संसदीय निर्वाचन क्षेत्रको संयोजनमा सम्पन्न कार्यकर्ताहरुको भेलाले प्रदेश निर्वाचन क्षेत्रस्तरीय सभापति चयन गरेको हो । समितिका अन्य पदाधिकारी र सदस्यमा यसअघि कायम क्षेत्रीय पदाधिकारी तथा सदस्यहरु नै रहने व्यवस्था निर्देशिकाले गरेको छ ।