राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् । अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए ।
उनले भने, “नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन ।” जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए । उनले भने, “राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पुलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो ।”
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने, “प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दै । तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु हुँदैन । राजाले म फर्किन्छु भनेर हिँडेको छैन । उहाँले भाषण गरेको छैन । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ।”
फरक प्रसंगमा अध्यक्ष जबराले आफूहरु र राप्रपाबीच एकताको लागि वार्तालापको अवस्थामा भने पुगिनसकेको स्पष्ट पारे । उनले भने, “हाम्रो पार्टीको उच्च कार्यसम्पादन समितिको बैठक बसेको छ, विचार मिल्ने दल, समूह र व्यक्तिहरुसँग मिलेर जाने निर्णय भएको छ । र, त्यहीअनुसार हामीले आह्वान गरेका छौं ।”