धर्मेन्द्र कर्ण
बुधवार, श्रावण १, २०७६
744

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका छोरा निकोलस अर्नेस्टो मदुरो गुएरासहितको भेनेजुएली टोलीलाई सत्तारुढ नेकपाका नेताहरूबाट भएको अनौपचारिक तथा व्यक्तिगत भेटघाटले नेपालको कूटनीतिक क्षेत्रलाई असर पार्ने देखिएको छ । यस विषयमा सुहाउँदो कूटनीतिक मर्यादाको मापदण्डलाई पालना गर्न कमीकमजोरी भएको देखिएको सम्बद्ध विज्ञहरूले बताएका छन् ।
अमेरिकाले भेनेजुएली राष्ट्रपति मदुरोलाई बलपूर्वक सत्ताबाट हटाउन खोजेको भनिएको विषयमा सत्ताधारी पार्टीका नेताको रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गरी गरेको विरोधसम्मको विषयले कूटनीतिक क्षेत्रमा पार्ने असरभन्दा यो भेटघाटले बढी प्रभाव पार्ने उनीहरूको बुझाइ छ ।

चार दिनको बसाइपछि मदुरोको टोली नेपालबाट फर्के पनि नेपालको कूटनीतिक वृतमा यसले हल्लाइरहने देखिएको छ । नेकपा अध्यक्ष प्रचण्ड, पार्टीका नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग सो टोलीले भेटघाट गरेको छ । साथै राष्ट्रिय सभामा सत्ताधारी दल नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेतलाई सो भेनेजुएली टोलीले भेटेको छ ।
स्रोतले जनाएअनुसार ज्ञवाली र टोलीको भेट संघीय संसद् भवनमा भएको हो । सत्ताधारी नेताहरूसँग पनि संसद् भवनमै छलफल भएको थियो । नेकपा सांसद देवेन्द्र पौडेलका अनुसार भेटमा एक अर्काबीच देशको राजनीतिक अवस्थाको जानकारी आदानप्रदान भएको थियो ।
सन् २०१९ को जनवरी ५ मा विपक्षी नेता जुआन गुइदोले मदुरोलाई सत्ताच्यूत गर्न गरेको आन्दोलनलाई अमेरिकाले खुला समर्थन गरेको थियो । निर्वाचित राष्ट्रपतिलाई अमेरिकाले बलपूर्वक हटाउन खोजेको विषयमा प्रचण्डले गरेको विरोधसम्मको व्यवहार भन्दा छोरा मदुरोलाई गरिएको व्यवहार कूटनीतिक सन्तुलनलाई बिगारेको देखिएको पूर्व राजदूत श्यामानन्द सुमनले बताए ।
मदुरोको दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको सपथ ग्रहण समारोहलाई विपक्षी दल तथा अमेरिकासहित १३ देशले अस्वीकार गरेका थिए । चीन, रुस, टर्कीलगायत देशहरुले समर्थन गरेको सो समारोहमा नेपालबाट सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य बलराम बाँकोटा सहभागी भएका थिए ।
उनकै मध्यस्थतामा प्रचण्डले विज्ञप्ति जारी गरेका थिए भने अहिले यो टोलीलाई सत्तारूढ दलको युवा नेताको निम्तो गरी बोलाउन लगाइएको बुझिएको छ ।
प्रचण्डले जारी गरेको विज्ञप्तिका बारे नेपालस्थित अमेरिकी दूतावासले यस विषयमा सरकारको धारणा सार्वजनिक गर्न भनेको थियो । नेपाली राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिने काम भएको थियो । त्यतिखेर कूटनीतिक विवाद चर्किन गएपछि परराष्ट्र मन्त्रालयले राजदूतहरूको उपस्थितिमा ब्रिफिङ कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी सहभागी नभएर असन्तुष्टि पोखेका थिए ।
त्यो कूटनीतिक विवाद साम्य भएपछि मात्रै नेकपा अध्यक्ष प्रचण्डको अमेरिका भ्रमण सम्भव भएको देखिएको थियो । यसरी सुमुधुर बन्दै गएको सम्बन्धमा यसबाट असर पर्न सक्ने पूर्वराजदूत सुमनको बुझाइ छ ।
नेपाल र भेनेजुएलाबीच सन् १९८७ अप्रिल २८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । दक्षिण एसियाली देश श्रीलंका र माल्दिभ्समा हुने राजनीतिक संकटको विषयमा बोल्न नचाहेको देखिएको नेपालले भेनेजुएलाका विवादित समूहका नेताहरूलाई सम्मान गर्न खोज्नुले कूटनीतिक क्षेत्रमा असर पर्दैन भन्न सकिँदैन ।
परराष्ट्र मन्त्रालयले आफूलाई छोरा मदुरोको टोलीबारे जानकारी नभएको अवस्थामा सरकारका प्रमुख व्यक्तिहरूको भेटघाटले कूटनीतिक विवादलाई थप समस्यामा पारेको हो ।
कतिपय कूटनीतिक असर देखिन समय लाग्ने पूर्व राजदूत सुमनको भनाइ छ । उनका अनुसार यो कूटनीतिक विषयसँग जोडिएका देशहरूमा नेपालको यो व्यवहारबाट असर पर्ने छ । नेपालमा भारत, चीन र अमेरिकाको कुटनीतिक वर्चस्व अन्यको तुलनामा बढी रहेको छ । यी देशहरू विश्वकै राजनीति र कूटनीतिक अवस्थामा फेर बदल गर्न सक्ने शक्तिहरू हुन् । नेपाल भारत र चीनबीचमा अमेरिकाको पर्यवेक्षणमा छ ।
कूटनीतिमा कुनै बेला कम हैसियत भएकालाई बढी सम्मान दिइने र कुनै बेला बढी हैसियत भएकालाई कम सम्मान दिने गरेको नेपालमा पछिल्ला कूटनीतिक व्यवहार प्रदर्शित हुने गरेको पाइएको पूर्व राजदूत सुमनले जनाए ।
केही दिनअघि दलाई लामाको एजेन्ट भएको आंशकामा अमेरिकी नागरिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको विषयमा नेपालस्थित अमेरिकी दूतावासले ‘डिप्लोमेटिक नोट’ पठाएको थियो । पार्टी र नेता विशेषको हितका लागि नभएर कूटनीतिक व्यवहार सिङ्गो देशको लागि हुने गरेकोले यसबारे ध्यान दिनुपर्ने आवश्यकता रहेको सुमनको भनाइ छ ।