कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
332

सरकारको कामकारवाहीको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्यालयमा भेला गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन एवं कार्ययोजना प्रगति समीक्षाबारे प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका मन्त्रीसहित सचिव र अन्य पदाधिकारीहरुलाई बोलाएका हुन् ।

बिहिवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा प्रधानमान्त्री ओलीले चालू आर्थिक वर्षको प्रगति विवरणबारे मन्त्री र सचिवले जानकारी गराएका थिए । त्यस्तै, आगामी आर्थिक बजेट कार्यान्वयन कार्य योजनासमेत पेश गरेका छन् । सरकारको पछिल्लो निर्णयलाई लिएर चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले सरकारका मन्त्री र सचिवको काम गर्ने शैलीप्रति आक्रोश व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले मन्त्रालयगत ब्रिफिङ्गसमेत लिएपछि थप निर्देशन दिनेछन् ।
यसैबीच, प्रधानमन्त्री ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै सार्वजनिक मञ्चबाटै माफी मागेका छन् । प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिइएका कारण नेपाली जनताको सामु लज्जित हुनु परेको भन्दै माफी मागेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनु परेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकारविरुद्ध मिसन चलाएर भ्रम छर्न खोजिएको पनि आरोप लगाए । उनले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछ्याइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर सञ्चारमाध्यमले समाचार बनाएको विषयमा असन्तुष्टि पनि व्यक्त गरे । उनले कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको पनि बताए ।

‘नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ’
प्रधानमन्त्री ओलीले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले तरकारी र फलफूलको विषादी जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पारेका छन् । संघीीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताए ।
उनले भने, “जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादी देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।” उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, “कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।” उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरे ।