कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
440

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक प्रभावित बन्यो । कांग्रेस र राजपाले हालै सर्लाहीमा भएको गोलीकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेका हुन् ।
दुई दलका सांसदहरुले नाराबाजी गर्दै बेलसमेत घेराउ गरे । सभामुख कृष्णबहादुर महराले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग आवश्यक परामर्श गरेर संसदीय समिति गठन गर्ने भन्दै प्रतिपक्षी दलहरुलाई नाराबाजी रोक्न आग्रह गरेका थिए । तर, कांग्रेस र राजपाका सांसदहरुले तत्काल संसदीय समिति गठन गर्नुपर्ने भन्दै लगातार नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । १५ मिनेटका लागि भनेर स्थगित भएको बैठक सूचना टाँस गरेर बुधबार (आज) दिउँसो एक बजेका लागि सारिएको थियो । संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले स्थगित गरिएको जनाएको छ ।
त्यसअघि गृहमन्त्री रामबहादुर थापाले संसद्लाई सर्लाही घटनाका बारेमा जानकारी गराउँदै प्रहरी इन्काउन्टरमा प्रतिबन्धित नेकपाका नेता कुमार पौडेलको मृत्यु भएको दाबी गरेका थिए । सर्लाहीमा विप्लव नेकपाले आतंक मच्चाएको भन्दै जनप्रतिनिधिले गरेको जीउधनको सुरक्षा र शान्तिसुरक्षा कायम गर्ने माग पूरा गर्ने क्रममा सरकारले कदम उठाएको उनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको मुठभेडको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै संसदमा गृहमन्त्रीको जवाफ मागेको थियो ।
जवाफ दिने क्रममा गृहमन्त्री थापाले जनताको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने दायित्व सरकारको भएको भन्दै सोही क्रममा सरकारले कदम उठाएको बताए । “सर्लाहीमा विप्लव समूहले आतंक मच्चाइरहेको थियो । चन्दा आतंक, जनप्रतिनिधिलाई धम्की दिने काम भइरहेको थियो । त्यहाँ जनप्रतिनिधिहरुकै मागअनुसार शान्ति सुव्यवस्था होस्, जनताको जीउधनको रक्षा होस् भन्ने मागअनुसार नै राज्यले कदम उठाएको हो,” गृहमन्त्री थापाले भने । तर, प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री थापाले संसदलाई ढाँटेको भन्दै संसदीय समिति गठनको माग गरे । सांसदहरूको प्रश्नमा गृहमन्त्री थापाले जवाफ दिए पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस र राजपाले बैठक अवरूद्ध पारेका हुन् ।

‘मन्द विष खुवाएर सरकारले जनसंख्या घटाउन लाग्यो’
नेपाली कांग्रेसकी नेतृ पुष्पा भुषालले मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटनाउनतिर लागेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सचेतक भुषालले तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन दिने सरकारको निर्णयतर्फ लक्षित गर्दै ३ करोड भन्दा कम जनसंख्या पनि सरकारलाई बढी भएको हो ? भन्दै प्रश्न गरिन् ।
“सरकार किन नेपाली जनतालाई माया गर्दैन ? आज यो सरकारले जनसंख्या किन घटाउन खोज्दैछ ? विषादीयुक्त तरकारी र फलफूल आयात गरेर त्यो खान किन बाध्य पार्दैछ सरकार ? मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटाउनतिर किन लाग्यो ?” उनले प्रश्न गरिन् । त्यस्तै, उनले निहत्था नागरिकमाथि सरकारले गोली चलाएको भन्दै त्यस्तो अधिकार कसले दियो भन्दै प्रश्न पनि गरिन् । विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या भएको दाबी गर्दै उनले सरकारले मानवअधिकारको धज्जी उडाएको बताइन् ।
“संविधानभन्दा माथि गएर यो सरकारले मनपरितन्त्रबाट शान्ति सुरक्षालाई भंग गर्ने किसिमको काम गर्न पाउँदैन,” सचेतक भुषालले भनिन्, “जब सरकारले कानुन मान्दैन, संविधान मान्दैन, सरकार निरंकुश हुन्छ । जब सरकारले नै शान्ति सुरक्षा भंग गर्छ भने समाजमा रहेका अपराधीहरु न सरकारसँग डराउँछन्, न कानुनसँग । सरकार संविधानमा लेखेको कुरा पालना गर्न तयार हुने हो कि होइन ?”
कांग्रेसले माओवादीको १० वर्षे सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याएर हल गरेको स्मरण गराउँदै उनले निहत्था नागरिकको हत्या किन हुँदैछ भन्नेमा सरकारको जवाफसमेत माग गरिन् ।

गगनको प्रश्न– थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि विभेद किन ?
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रामबहादुर थापा गृहमन्त्री बनेपछि थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि सुरक्षा संयन्त्रको व्यवहार झन् विभेदकारी र असंवेदनशील बन्दै गएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यसो हुनुको कारण क्षमताको अभाव हो कि बद्नियत भन्दै प्रश्न गरेका थिए ।
राजनीतिक, प्रशासनिक, न्यायिक, सुरक्षा संरचना र स्वरुपमा असमावेशी र व्यवहारमा विभेदकारी रहँदै आएकाले यसलाई बदल्ने संकल्प संविधानले गरेको थापाले बताए । त्यही संकल्प कार्यान्वयन गर्न यही संसदबाट अनेकन कानुन बनाइएको र अहिले पनि बनिरहेको भन्दै त्यसको कार्यान्वयन गर्ने सरकारको नियत र क्षमतामा थापाले आशंका व्यक्त गरे ।
“कार्यान्वयन त्यसबेला हुन्छ जतिबेला सरकारले नियत राख्छ, क्षमता राख्छ । तर, तपाईं गृहमन्त्री भइसकेपछि झन् उल्टो पो हुनथाल्यो,” सांसद थापाले भने, “थारु, मधेसी, दलित, मुस्लिम, महिलामाथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार झन्झन् विभेदकारी र असंवेदनशील बन्दै गएको छ । सर्लाहीको इश्वरपुरको घटना यसकै एउटा उदाहरण हो, प्रमाण हो ।”

कांग्रेस प्रवक्ताको प्रश्न– गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारी ?
यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत हो कि सरकारको धारणा हो भनेर प्रश्न गरेका छन् । गृहमन्त्री रामबहादुर थापाले मंगलबार प्रतिनिधिसभा बैठकमा सर्लाही गोली काण्डका बारेमा प्रष्ट्याउँदै जनताको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने दायित्व निर्वाह गरेको अभिव्यक्ति दिएलगत्तै प्रवक्ता शर्माले उक्त सवाल उठाएका हुन् ।
कांग्रेस प्रवक्ता शर्माले गृहमन्त्री थापाको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीलाई ट्विटरमार्फत् प्रश्न गरेका छन्, ‘‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो ? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ?”
उनले ओलीलाई द्वन्द्वकालीन अवस्थाको स्मरण गराउँदै अगाडि भनेका छन्, “उसबेलाको ‘प्रजातन्त्र’ ले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादलहरु बेपत्ताको लिस्टमा पुग्ने थिएनन् र ? सहादतको सूचीमा भलै हामी कयौंको नाम हुन्थ्यो !”