कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
462

धनकुटा-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का लागि धनकुटा जिल्ला गढका रुपमा चिनिँदै आएको छ । तर, यस जिल्लामा जिल्लास्तरका नेताहरुले भने पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
पुरानो पाटी कार्यालयमा पत्रकार सम्मेलन गर्दै धनकुटाका जिल्ला अध्यक्ष, उपाध्यक्ष, क्षेत्रीय अध्यक्षहरु, नगर कमिटी अध्यक्षसहित २० जना जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्ने निर्णय भएबमोजिम आफूहरु पार्टीबाट अलग भएको पूर्वउपाध्यक्ष टीकाप्रसाद घिमिरेले जानकारी दिए । पार्टीभित्रको स्वार्थ समूहले देश र जनताको भलाईका लागि काम गर्न नसकेको र नचाहेको, ढुलमुले प्रवृत्ति देखाएका कारण पार्टी छोड्न बाध्य हुने अवस्था आएको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) धनकुटाका पूर्व अध्यक्ष कुमारबहादुर थापाले बताए । विभिन्न स्वार्थ समूहले कहिले पार्टी फोड्ने कहिले जोड्ने गरेको र त्यसबाट देश र जनतालाई केहि प्राप्त नभएको साथै स्व. पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको जिचार र सिद्धान्तबाट समेत पार्टी पछाडि हट्ने काम गरकोले आफूहरुले पार्टी छोडेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष कुमारबहादुर थापाले अब राष्ट्रिय प्रजातान्त्रिक पार्टीमा दास भएर बस्न चाहनेहरु मात्र रहने आरोप लगाए ।
धनकुटाबाट स्व. पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा २०४६ सालपछि २ पटक संसद सदस्यमा निर्वाचित भएका थिए भने २०७० सालको संविधानसभाको निर्वाचनमा समेत थापाका छोरा सुनिलबहादुर थापा धनकुटाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । धनकुटा राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिकको अन्य जिल्लामा बन्दा राम्रो स्थानमा रहेको पार्टीको रुपमा समेत चिनिएको जिल्ला हो ।