कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
474

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।
भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको हो । आन्दोलनरत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।
बुधबार (आज) विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने नेविसंघले जनाएको छ । नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते माइतीघरमा प्रदर्शन तथा सभा आयोजना गर्ने भएको छ ।