कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
254

निर्वाचन आयोगले नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकीकरण भई बनेको समाजवादी पार्टी नेपालको औपचारिकता टुंगो लगाएलगत्तै सरकारबाट हट्ने अल्टिमेटम बुझाइने पार्टीका नेताहरूले बताएका छन् । निर्वाचन आयोगले दुई पार्टीबीच भएको एकीकरण र त्यसपछि निर्माण भएको समाजवादी पार्टीको गठन विधि प्रक्रियासम्मत मिले–नमिलेको विषयमा अध्ययन गरिरहेको छ ।
समाजवादी पार्टीको टुंगो नलगाएकाले सदनमा डा. बाबुराम भट्टराई अझ आफ्नै लहरमा बस्ने गरेको पार्टीका नेताहरू बताउँछन् । पार्टी स्रोतका अनुसार समाजवादी पार्टीको रूपमा औपचारिक बैठक बस्न सकेको छैन । निर्वाचन आयोगले समाजवादी पार्टीको गठन प्रक्रियालाई विधिसम्मत् ठहर गरी प्रमणपत्र दिएपछि पार्टी बैठक बस्नेछ ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्ने बेलामा सरकारबाट हटनुपर्ने शर्त अगाडि सारेको थियो । फोरमले भने एकीकरण गरिसकेपछि पार्टीले निर्णयअनुसार सरकारमा बस्ने वा छाड्ने निर्णय गरिने जनाएको थियो ।
दुई पार्टीको केन्द्रीय तहमा सहमति भई एकीकरणपछि समाजवादी पार्टी गत वैशाखमा गठन भएको थियो । त्यसपछि पार्टीमा सरकार छोड्नुपर्ने माग अगाडि आइरहेको छ । फोरम नेतृत्वले निर्वाचन आयोगको एकीकरण प्रक्रिया पूरा हुनुपर्ने बताएअनुसार अहिलेसम्म सरकार छाड्ने विषयमा पार्टीले एजेन्डा बनाएर छलफल गरिसकेको छैन ।
निर्वाचन आयोगले यसको टुंगो लगाएपछि पार्टीको बैठक बसी यो निर्णय गर्ने समाजवादी पार्टी राजनीतिक समितिका सदस्य डा. शिवजी यादवले बताए । पार्टीले सरकारमा सहभागी हुँदा संविधान संशोधन र सरकारमा सहभागी हुने दुई बुँदे सम्झौता प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतसँग फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्झौता गरेका थिए ।
संविधान संशोधनमा भइरहेको ढिलाइका कारण पार्टीप्रति गलत सन्देश गइरहेको भनेर तत्कालीन फोरममा आक्रोश छँदै थियो । नयाँ शक्तिको लाइन सरकार छोड्ने भएपछि पार्टीमा सरकार विरोधी लाइन बलियो भएको पार्टी नेताहरूको भनाइ छ ।
अपेक्षा गरेअनुसार साउनको अन्तिम सातासम्म सरकारमा बस्ने वा छोड्ने विषयमा निर्णय गरी एक अल्टिमेटम दिने निर्णय गरिने डा. यादवले बताए ।
सरकारमा छौं भन्ने उचित कारण नखुलाई झट्ट सरकार छोड्दा राजनीतिक कमजोरी हुने उनको भनाइ छ । पार्टीको एक नेताका अनुसार राजपासँग संविधान संशोधनकै लागि एकता गर्नुपर्ने आवश्यकता छैन । देशमा वैकल्पिक शक्ति निर्माण गर्न राजपासँगको एकता आवश्यक छ ।
संविधान संशोधनको प्रस्ताव सदनमा दर्ता भए त्यसको विरोधमा राजपा जान नसक्ने भएकाले एकीकरणको आवश्यकता र औचित्यको खोजीमा दुबै पार्टीका नेताहरू लागिपरेका छन् ।
जानकारी नदिएर सरकारमा गएको र नयाँ शक्तिसँग एकीकरण गरेको विषय भित्र लुकेको राजनीतिको खोजनीतिमा राजपाका नेताहरू लागिपरेका छन् । यी विषयहरू परिपक्व भएपछि समाजवादी पार्टी सरकारबाट पनि हट्ने र एकीकरण पनि हुन सक्नेछ ।