कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
361

सरकारले चार देशका लागि प्रस्ताव गरेका राजदूत प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएका छन् । सोमबार बसेको बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका नयाँ राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषदको बैठकले चार देशमा राजदूत नियुक्तिको निर्णय गरेको थियो । सरकारले अष्ट्रेलियका लागि महेश दाहाल, बंगलादेशका लागि बंशीधर मिश्र, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारद भारद्वाजलाई नयाँ राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

अष्ट्रेलियका लागि सर्वसम्मत राजदूत दाहाल १० महिना अगाडिमात्र नेकपामा प्रवेश गरेका थिए । सुरुमा कांग्रेसमा रहेका दाहाल गत प्रतिनिधिसभा तथा प्रदेशसभामा चितवनबाट प्रचण्ड विजयी भएसँगै उनीसँग नजिकिएका थिए ।
नेपाली कांग्रेसको कोटाबाट नेपाल टेलिभिजनको अध्यक्ष भएका उनलाई नेकपाको पार्टी कार्यालयमा प्रचण्ड र महासचिव विष्णु पौडेलले पार्टी प्रवेश गराएका थिए ।
तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए । दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले उनको कार्यकाल थप गरिदिएका थिए । कार्कीले माओवादी कोटाबाट सचिन रोकालाई महाप्रबन्धकमा नियुक्ति दिँदै दाहालको कार्यकाल थपेका थिए ।
बंगलादेशका लागि अनुमोदित मिश्र नेकपाका नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजका लगानीकर्ता रहेको बताइएको छ । तत्कालीन नेकपा एमालेबाट संविधानसभाको सदस्य भएका मिश्र मेडिकल शिक्षाको सुधारका लागि गोविन्द केसीले गरेको सत्याग्रहको कटु आलोचक हुन् । उनमा पनि कूटनीतिक क्षेत्रको अनुभव छैन । जनप्रशासनमा स्नातक तथा एमबीबीएस गरेका मिश्रले २०३२ सालमा विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०४९, २०५६ र २०६४ मा मिश्र रौतहट–४ बाट निर्वाचित भएका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सदस्य भएका थिए । उनी हाल नेकपाको केन्द्रीय सदस्य छन् ।
स्पेनका लागि नयाँ राजदूत शेर्पा नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन् । उनका बुबा लाक्पा सोनाम शेर्पा यति एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा थामशेर्कु ट्रेकिङका सञ्चालक हुन् । उनका भाइ आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएको थियो ।
कतारका लागि सर्वसम्मत भएका राजदूत नारद भारद्वाज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै झापा विद्रोहमा सहभागी भएर १२ वर्ष जेल बसेका थिए । त्रिविमा अंग्रेजी विषयको सहप्राध्यापक रहेका उनलाई ओलीकै जोडबलमा राजदूत सिफारिस गरिएको बताइएको छ ।