कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
339

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको आज (आइतबार)बाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा मुलुकका जल्दाबल्दा विषय र सरकारका गलत क्रियाकलापका बारेमा केन्द्रित रहेर छलफल हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले बैठकको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा उनीहरूले सरकारको चर्को आलोचना पनि गरे ।
केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे । उनले भने, “प्रधानमन्त्री ओलीजी हास्यास्पद पात्र बन्नुभयो । बिहान उठ्दा देशभक्तिको कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्त बन्नुहुन्छ । प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ । उहाँलाई कतिवेला के मुड चल्छ ? थाहै हुँदैन ।”

गुरुङले आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीवादी चरित्र देखाएको पनि आरोप लगाए । उनले भने, “चर्को विवाद भएपछि आईफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो ।”
नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, “अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं । सरकार नालायक भयो ।” वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाइको भारी बोक्न नसक्ने उनको ठोकुवा छ । उनले भने, “दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ ।” सरकारका गलत काम र क्रियाकलापका कारण सरकारविरुद्ध आन्दोलनका आधारहरू पनि प्रशस्तै तयार भएको गुरुङले जनाए ।
फरक प्रसंगमा उनले आफ्नो पार्टीभित्र पनि अहिले किचलो रहेको स्विकार गरे । उनले भने, “हाम्रो पार्टीभित्र पनि आन्तरिक किचलो छ । नेतृत्वको बीचमा हानाथाप छ ।” उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकता औंल्याए ।
अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले भने वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । उनले भने, “यो सरकार पाँच वर्षको लागि हो । त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ । हामी स्थिरताको पक्षमा छौं । हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं ।”
घिमिरेले आफ्ना पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकार ढाल्छौं नै भनेर अभिव्यक्ति नदिएको जिकिर गरे । उनले भने, “उहाँले पनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नुभएको हो । तर, सरकार नै ढाल्छु भनेर अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन ।”
उनले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गम्भिर र महत्वपूर्ण विषयमा छलफल हुने विश्वास दिलाए । उनले भने, “कार्यसमिति बैठक केही दिन लामो चल्छ र यो टर्निङ प्वाइन्ट हुनेछ । कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दैछ । अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदैछन् ।”
त्यस्तै उनले अब महाधिवेशनको प्रक्रिया पनि सुरु हुने जनाए । उनले भने, “महाधिवेशनको लागि सदस्यता वितरणको काम अब अघि बढ्छ ।” यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै नगर्ने जिकिर उनले गरे । उनले भने, “हामी धर्मसापेक्ष नीतिअनुसार अघि बढ्छौं । यसपालिको बैठकमा धर्मको विषयले प्रवेश पाउँदैन, ढुक्क हुनुहोस् ।”
अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले भने बैठकमा धेरै गहन विषयमा छलफल हुने र हिन्दूराष्ट्रको विषय पनि उठ्ने बताए । उनले भने, “भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ ।” पछिल्लो समय हिन्दूराष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै उनले कांग्रेस बैठकमा यो विषय स्वभाविक रुपमा उठ्ने जनाए ।
वर्तमान सरकार शान्ति, सुरक्षा कायम गर्न चुकेको र इतिहासमै यो मामिलामा कमजोर बनेको उनको आरोप छ । भ्रष्टाचार, महँगीलगायतका विषयमा पनि सरकार चुकेको उनको दाबी छ ।
अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले केन्द्रीय कार्यसमितिको बैठकले नेताहरूबीच एकता कायम गर्ने दाबी गरे । उनले भने, “हाम्रा नेताहरूबीच एकता हुन आवश्यक छ । आम जनताले पनि त्यही चाहना राख्नुभएको छ ।” यादवले पार्टीको विधान पारित भैसकेकोले अब नियामावलीको प्रस्ताव आउने पनि सुनाए । उनले भने, “पार्टीको संरचना बनाउने कोसिस भैरहेको छ । त्यसका बारेमा पनि प्रस्ताव आउँछ ।”