धर्मेन्द्र कर्ण
आइतवार, असार २२, २०७६
1051

पूर्वराजदूत श्यामानन्द सुमन भन्छन्– राजनीतिक कार्यकर्ताहरूलाई कूटनीतिक क्षेत्रमा पठाउँदा त्यसको गरिमालाई कायम राख्नेहरू पठाउनु र बढी करियर कूटनीतिज्ञहरूलाई प्रोत्साहन गर्नु प्रमुख देशहरूबीच जटिल समयमा हुने कूटनीतिक व्यवहारमा सुधार ल्याउने पहल हुन सक्छ । उच्चस्तरीय भ्रमणका लागि कुशल कूटनीतिक प्रयासको खाँचो पर्छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउनु टुँडीखेलमा कार्यकर्ता उफारेजस्तो नभएको टिप्पणी कूटनीतिक क्षेत्रका विज्ञहरूले गरेका छन् । आग्रह गर्दैमा भ्रमण सुनिश्चित नहुने उनीहरूको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण यहाँको कूटनीतिक व्यवहारले अनिश्चित बनेको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग गत बुधबार दिउँसो भेटवार्ता गरेका बेला राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमणका बारेमा आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार नेपालको तर्फबाट भएका कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्षको असन्तुष्टि ज्ञवालीको यस्तो आग्रहले साम्य हुन सक्दैन ।
नेपाल भारतबीचको कूटनीतिक सम्बन्ध सही ठाउँमा ल्याउन नसकेसम्म चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सुनिश्चिन हुन सक्ने अवस्था देखिएको छ । “चीनले आफू विरूद्ध जाइलाग्नेहरूलाई उचाल्न नेपाललाई सहयोग गर्ने होइन । नेपालले एकतर्फ एक चीन नीतिको समर्थन गर्छु भन्छ अर्कोतर्फ फ्रि तिब्बत मुभमेन्टलाई सघाउन आफ्ना सांसदलाई विदेश पठाउँछ । यस्तो गतिविधि गराउन छुट दिने परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने मन्त्री ज्ञवालीको विश्वास चिनियाँ समकक्षीले यति छिट्टै गर्न गाह्रो हुन्छ,” एक पूर्व राजदूतले भने ।
केही महिनाअघि समाजवादी पार्टीको तर्फबाट सांसद प्रदीपकुमार यादव लाटिभियाको रिगामा आयोजित इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बतको कार्यक्रममा सरिक भई फर्केका थिए । पार्टीले असार १० गते विज्ञप्ति जारी गरी यादवबाट लाटिभियासम्बन्धी विषयमा प्राप्त स्पष्टीकरण चितबुझ्दो नभएकोले उनलाई ६ महिनाका लागि निलम्बन गरिएको जनाएको थियो ।
सम्बन्ध सुधार्न त्रिभुवन विमानस्थलबाट फ्रि तिब्बत मुभमेन्ट तथा बौद्ध धर्मावलम्बीका गुरू दलाई लामाको एजेन्ट भएको आंशकामा एक अमेरिकी नागरिकलाई फिर्ता पठाइएको थियो । त्यस घटनाप्रति आपत्ति जनाउँदै नेपालस्थित अमेरिकी दूतावासले नेपालमा आउने विदेशीहरूको बारेमा क्लियरेन्स त्यहाँको सरकारबाट लिने गरिएको र त्यस अधारमा एजेन्ट भनिएकालाई फिर्ता पठाइएको हो भन्ने विषयमा जानकारी माग गरेको हो ।
स्रोतका अनुसार अझसम्म अमेरिकालाई त्यसबारे कूटनीतिक नोट पठाएको छैन । क्यारियर डिप्लोमेटको व्यवहार र प्रोत्साहन गर्ने कार्य पछिल्ला सरकारहरूबाट नहुने गरेको र त्यस ठाउँमा राजनीतिक दलका कार्यकर्ताहरूलाई प्रोत्साहन गर्न थालेको देखिएको छ ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण भनेको कुशल कूटनीतिक प्रयासको सफलता हुनेछ । तर कूटनीतिक व्यवहार नै कुशल नभइरहेको बेलामा कुशल कूटनीतिक प्रयासको सफलता अपेक्षा गर्न सकिने अवस्था नरहेको कूटनीतिक क्षेत्रका विज्ञहरूको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायती प्रधानमन्त्री टेरिजा मेसँगको हालैको भेटवार्ता कमजोर कूटनीतिक व्यवहारको प्रदर्शन हो । पदबाट राजीनामा दिइसकेका बेलायती प्रधानमन्त्री मेसँगको प्रधानमन्त्री ओलीको भेट अनुपयुक्त भएको पूर्वराजदूत श्यामानन्द सुमनको टिप्पणी छ । 

दुई सय वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध भएको बेलायतसँगको यो कमजोर कूटनीतिक व्यवहारका कारण त्यहाँको बेलायती महारानीसँगको भेट सम्भव हुन नसकेको उनको बुझाइ छ । सुमन भन्छन्, “एक त यस्तो भ्रमणको आयोजना नै गर्नु हुने थिएन । गरिहाले भने पनि यो भेटका क्रममा ५ मिनेटकै लागि भएपनि महारानीसँगको भेट गराउन सक्नुपर्ने थियो ।”
नाकाबन्दीका बेला बिग्रेको नेपाल भारतबीचको सम्बन्ध पनि सुधार भएपनि जुनस्तरमा हुनुपर्ने हो, त्यो स्तरमा भइसकेको देखिएको छैन । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँग भारतका विदेशमन्त्री एस जयशंकरको औपचारिक भेट हालसम्मकै सबैभन्दा लामो समयपछि हुने भेट हुने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दोस्रो कार्यकालको सरकार गठन मे ३० तारिखमा भएको थियो । त्यो लगत्तै नयाँ दिल्लीस्थित भारतीय दूतावासको तर्फबाट त्यहाँका विदेशमन्त्री जयशंकरसँगको औपचारिक भेटघाटका लागि समय लिन पत्र पठाए पनि त्यसको जवाफ नआएको एक महिना भइसकेको त्यहाँका अधिकारीहरूको भनाइ रहेको छ ।
यसअघिका भारतका लागि नेपाली राजदूतहरूलाई औपचारिक भेटका लागि बढीमा हप्ता–दश दिनको समय लाग्ने गरेको देखिएको छ । आचार्यले विदेशमन्त्री जयशंकरसँग कतिपय अनौपचारिक कार्यक्रममा भेटेका छन् तर औपचारिक रूपमा भेटन पाएका छैनन् ।
कूटनीतिक रूपमा यसलाई राम्रो सम्बन्धको रूपमा लिँइदैन । त्यसमा पनि नेपाल र भारतबीचको सम्बन्धमा यस्तो कूटनीतिक दूरी ठूलो मानिन्छ ।
पूर्वराजदूत सुमन भन्छन्, “यति लामो समय लाग्नुमा दुई देशबीचको सम्बन्धमा अझ सुधारको खाँचो रहेको दर्शाउँछ । अपेक्षा गरौं, छिट्टो सुधार होस् ।” राजनीतिक कार्यकर्ताहरूलाई कूटनीतिक क्षेत्रमा पठाउँदा त्यसको गरिमालाई कायम राख्नेहरू पठाउनु र बढी करियर कूटनीतिज्ञहरूलाई प्रोत्साहन गर्नु प्रमुख देशहरूबीच जटिल समयमा हुने कूटनीतिक व्यवहारमा सुधार ल्याउने पहल हुन सक्ने सुमनको भनाइ छ ।
चिनियाँ राष्ट्रपति सीको भ्रमणका बारेमा उनले भने, “चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउनु टुँडिखेलमा कार्यकर्ता उफारेजस्तौ हैन । यसका लागि कुशल कूटनीतिक प्रयासको खाँचो छ ।”