कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
575

उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसँग भेट गरी सरकारमा सहभागी हुने विषयबारे पार्टीभित्र सहमति बनाउन पहल लिनेलगायत विषयमा छलफल गरेका छन् । ढिलो–चाँडो सरकारको नेतृत्व पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन सक्ने सम्भावना बढ्दै गएकोले त्यतिखेर बन्ने सरकारमा सहभागी हुन पार्टीमा सहमति बनाउन अध्यक्ष यादवले राजपा नेता महतोलाई भेटेका हुन् ।
अनौपचारिक रूपमा दुवै नेताले करिब तीन घण्टा छलफल गरेको बताइएको छ । यादव र महतो निकट नेताहरूले बैठकमा पार्टी एकीकरण, प्रदेश नम्बर २ को सरकारमा मन्त्रीको हेरफेरलगायत विषयमा छलफल गरेको बताएका छन् ।

राजपालाई सरकारमा सहभागी गराउन पहिले पनि पहल नभएको होइन, तर पार्टीले शर्त अगाडि सारेर एकता प्रक्रियालाई अगाडि बढाउन सकेको थिएन । संविधान संशोधनको विषयमा सरकारले धेरै आलटाल गरेमात्र समाजवादी पार्टीले सरकारबाट हट्ने निर्णय गर्नेछ ।
एकीकरणको शर्तको रूपमा सरकारबाट हट्नुपर्ने राजपा र नयाँ शक्तिको मागलाई सपा अध्यक्ष यादवले पहिला एकीकरण गरौं र त्यसपछि बन्ने पार्टीबाट निर्णय भए तत्काल सरकारबाट हट्ने राजनीति अगाडि बढाएका थिए ।
दुवै नेताबीच जनकपुरमा छलफल भएको राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले बताए । नेताहरूबीच प्रदेश नम्बर २ को सरकार फेर्ने विषयमा छलफल भएको विषय सान्दर्भिक नदेखिएको स्रोतको दाबी छ । साथै यादवले पार्टीमा राष्ट्रपतीय प्रणालीका विषयमा पनि सहमति गराउन आग्रह गरेका छन् ।
राजपा र सपाबीच सैद्धान्तिक रूपमा यो विषयमा भिन्नता रहेको छ । राजपाले प्रधानमन्त्रीय प्रणालीको सरकारको पक्ष लिएको छ भने सपाले राष्ट्रपतीय प्रणालीलाई मानेको छ ।
प्रदेश नम्बर २ मा बनेका मन्त्रीहरूलाई फेर्नुपर्ने कारण देखिएको छैन । तत्कालै यादवले मुख्यमन्त्री लालबाबु राउतलाई फेर्न सक्ने स्थितिमा रहेका छैनन् भने राजपाका तर्फबाट सहभागी भएका मन्त्रीहरू अध्यक्ष मण्डलका सदस्य निकटका व्यक्तिहरू छन् ।
स्रोतका अनुसार पार्टी एकीकरण र संविधान संशोधनको विषयमा यी दुई पार्टीबीच ठूलो असहमति छैन । अहसमति भनेको अध्यक्ष मण्डलीय संरचना उपेन्द्र यादवका लागि घाँडो छ । जबसम्म राजपा एकल अध्यक्ष मण्डलको संरचनामा पार्टी आउँदैन, तबसम्म पार्टी एकीकरण हुनेमा शंका छ ।
आउँदो छठपछि राजपाले पार्टीको महाधिवेशन गर्ने भएको छ । त्यतिखेर राजनीतिक अवस्थामा फेरबदल हुन सक्ने सम्भावना रहेको छ । तर त्यसो नभए उपेन्द्रले महतोलाई बताएको राजनीतिक परिदृश्य अनुसार स्थिति बन्ने भए राजपा सरकारमा सहभागी हुनु राम्रो हुने विश्वास गर्ने बताएको स्रोतको भनाइ छ ।