कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
397

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संविधान विपरीत ल्याइएको गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको उनले दाबी गरे । उनले भने, “भर्खरै ल्याएको विधेयक फिर्ता लिइयो । विधेयक ल्याउनुभन्दा अगाडि सरकारले यसबारेमा गृहकार्य गर्नुपथ्र्यो कि पर्दैनथ्यो ? फिर्ता गर्नु बहादुरी होइन । सरकारको कार्यकारी प्रमुखको नाताले गल्ती विधेयक ल्याएर, संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ । उहाँले नैतिक रुपले जिम्मा लिनुपर्छ । राजीनामा पनि दिन तयार हुनुपर्छ ।”
सरकारले धेरै विधेयकहरु संविधानको मर्म र भावना विपरीत ल्याउने काम गरिरहेको आरोप उनले लगाए । गुठी विधेयक ल्याउन खोजेर सरकारले नेपाली जनताको आस्थामाथि प्रहार गर्ने काम गरेको टिप्पणी उनले गरे ।