कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
418

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसले संसदीय मूल्य, परम्परा, मान्यता भुलेर अमर्यादित ढंगले प्रस्तुत हुन थालेको आरोप लगाएका छन् । गत मंगलबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षी दल कांग्रेसले बेल घेराउ गर्दै बोल्न रोकेको थियो ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजन शीर्षकमाथि बोल्दै भट्टराईले भने, “संसद्मा प्रधानमन्त्रीले मुलुकको बारेमा, संसद्मा समाजमा उठेका विषयको बारेमा जानकारी दिन्छु भन्ने आशय व्यक्त गर्नुहुन्छ र समयको माग गर्नुहुन्छ तर बोल्न पाउनुहुन्न । हामीले कस्तो संसदीय अभ्यासको वकालत गर्दैछौँ ? संसदमा दैनिक कार्यसूची कसरी अजेण्डाका रूपमा प्रवेश हुन्छ । संसद नियमावलीको दफा १२ मा उल्लेख छ । प्रत्येक दिनको कार्यसूची सभामुखले निष्कर्षमा पु-याउनुहुन्छ र संसदसमक्ष प्रस्तुत गर्नुहुन्छ । हामीले मान्नु अनिवार्य बाध्यता हुन्छ ।”

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुखको भूमिका नमानेको आरोप उनले लगाए । “सभामुखको आसन नस्वीकार्ने हो भने संसदलाई अराजकतातिर लैजान्छौँ । संसदको गरिमालाई कमजोर बनाउँछौँ,” उनले भने, “खास गरी २०४६ सालपछि संसदको गरिमा घटाउने काम भयो । त्यसले मुलुकमा अनेक खालका विद्रोह निम्त्यायो । आफैँले बनाएको कानुनले उत्पत्ती गरेको संसदको गरिमा बचाउँदैनौँ भने हाम्रो मुलुक कसले बचाइदिन्छ ?”
उनले नियम, कानुन, संविधान नमानेपनि कांग्रेसले प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाएको भन्दै कानुन र संविधान कम्युनिस्टलाई मात्र लाग्छ ? श्रीपेच लगाइदिएको पार्टीलाई लाग्दैन ? भन्दै प्रश्न गरे । आफूले अस्तिको घटनाप्रति नेपाली कांग्रेसले ‘जे भयो, गल्ती भयो’ भनेर आत्मआलोचना गर्ला भन्ठानेको तर उल्टै रिसाएको बिरालोले खाँवो चिथोरेझैँ गरी प्रस्तुत भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।
संसदमा सत्तापक्ष र प्रतिपक्षको भूमिका हिजोका व्यवहारले परिभाषित हुँदै आएकाले सोही अनुरूप अघि बढ्नुपर्ने उनको सुझाव थियो ।