कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
406

अछाम-पर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले अपर कर्णाली आयोजना नेपाल सरकार आफैंले बनाउनुपर्ने बताएका छन् । नेकपा अछामले विनायकमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै रावलले अपर कर्णाली आयोजना निर्माण गर्न नेपाल सरकारसँग क्षमता भएको बताएका हुन् ।
आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआर कम्पनीलाई जिम्मा दिन नहुने रावलको भनाइ छ । ९०० मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको अपरकर्णाली आयोजना निर्माणको जिम्मा सरकार आफैंले लिएर समयमै सम्पन्न गर्नुपर्ने नेता रावलले बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्नेमा नेता रावलको जोड छ ।
नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका रावलले वर्तमान सरकारले गरेका राम्रा कामप्रति नेपाली कांग्रेसले विरोध जनाउँदै नागरिकमा अफवाह फैलाइरहेको आरोप लगाए । सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टी जिल्ला कमिटीलाई पूर्णता दिएपश्चात् अछामका विभिन्न जनसभामा सहभागी भइरहेका रावलले जनताका समस्याहरु समाधानका लागि आफू अघि बढ्ने बताए ।