कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६
463

रुपन्देही-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकारले मनपरी काम गरिरहेकोले जनताले विकल्प खोज्न थालेको बताएका छन् । देउवाले मुलुकमा केही गर्न नसकेको र उल्टै सबै क्षेत्रमा हस्तक्षेपकारी भूमिका दुई तिहाइले निभाईरहेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार बिहान निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेकोे पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार ढल्ने दाबी गरेका हुन् । दुई तिहाईको सरकार तपार्इंहरुले कसरी गिराउन सक्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, “विगतमा राणा शासन, पञ्चायत र राजा फाल्ने जनता नै हुन्, यो सरकार पनि जनताले गिराउँछन । यो सरकार विलय भएर जान्छ, पञ्चायत भन्दा पनि खत्तम भैसकेको छ ।”

प्रेस, अदालत, मानवअधिकार आयोगलगायत सबै क्षेत्रमा हस्तक्षेप गरेकाले सरकार आफ्नै कारणले ढल्ने उनले बताए । “सबै क्षेत्रमा हस्तक्षेप हँुदै गएको छ, अब कांग्रेसले जनतासँग मिलेर त्यसको प्रतिवाद गर्छ,” देउवाले भने । कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्ता पाल्न बजेट ल्याएको आरोप समेत उनले लगाए । वर्तमान सरकारले प्रजातन्त्रमाथि नै धावा बोलेकाले कांग्रेसले त्यसको रक्षा गर्ने उनको दाबी थियो । ठूला भ्रष्टाचार काण्डमा कांग्रेस किन नबोलेको भन्ने पत्रकारको प्रश्नमा सभापति देउवाले वाइडबडी, बालुवाटार लगायतका भ्रष्टाचार काण्ड अख्तियारमा गएकाले छानबिनमा आफूहरुले सहयोग गर्ने जनाए ।
“हामी सुरुदेखि नै आवाज बुलन्द गर्दै आएका छौं, अहिले अख्तियारले हेरिरहेको छ । हामी छानबिनका लागि अख्तियारलाई सघाउँछौं,” देउवाले भने, “भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ र भ्रष्टाचारमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्छ भनेर हामीले पटकपटक आवाज उठाउँदै आएका छांै ।” कांग्रेसले विरोध गर्दागर्दै सरकारले बजेटमार्फत् सांसद विकास कोषको बजेट बढाएकोप्रति कांग्रेसकै सांसदले स्वागत गरेको भन्ने प्रश्नमा देउवाले कहीँकतै पनि आफू र पार्टीले त्यसको स्वागत नगरेको दाबी गरे । सरकारले यो वर्ष प्रत्येक सांसदलाई ६ करोडका दरले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत् खर्च गर्ने गरी बजेट उपलब्ध गराउने जनाएको छ ।
फरक प्रसंगमा सभापति देउवाले भारतमा गठित नरेन्द्र मोदी नेतृत्वको सरकारले नेपालको सार्वभौमसत्तामाथि कुनै प्रभाव नराख्ने बताए । उनले नेपालको विकास नेपालीले गर्ने र कुनै विदेशीले नगर्ने भएकाले बाहिरी मुलुकको प्रभाव नपर्ने दाबी गरे । उनले अब आफ्नो ध्यान पार्टीलाई एकजुट बनाएर अघि बढ्ने भएको बताउँदै पार्टीमा त्यस्तो विवाद नरहेकाले केही विवाद भए सभापतिको हैसियतले आफूले समाधान गर्ने बताए । बाहिर आएजस्तो पार्टीभित्र विवाद नरहेको दावी उनले गरे । कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनमा सहभागी हुन सभापति देउवा शनिबार रुपन्देही आएका थिए ।