कारोबार संवाददाता
शुक्रवार, जेठ १७, २०७६
468

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश प्रहरीको विषयमा संघीय सरकारले अधिकार केन्द्रीकरण गर्नुले नेपाल प्रहरी बलियो नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा नवनिर्मित व्यायामशाला (जिम हल) को बिहिबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संविधानमा व्यवस्था भएको प्रदेश प्रहरी प्रमुखसहितको व्यवस्था केन्द्रबाटै हुनुले नेपाल प्रहरी बलियो नहुने बताएका हुन् ।
प्रहरीलाई श्रोत र साधनले सम्पन्न बनाउने उनीहरुलाई दक्ष र प्रविधिमैत्री बनाउने कुरामा पनि प्रदेश प्रहरी प्रदेशको मातहतमा आवश्यक भएको उनले बताए । उनले भने, “देश नयाँ संरचनामा गएको छ, व्यवस्था बदलियो, संरचना बदलियो, संस्था बदलियो । नेपाल प्रहरीको कार्यशैली बदलिनु पर्छ ।” प्रहरी आफैं सक्षम हुनु पर्ने उनले बताए । प्रहरीमा भएको राजनीतिकरण, पार्टी करण र गृह मन्त्री करणलाई रोक्नुपर्ने मुख्य मन्त्री गुरुङको भनाइ छ । उनले भने, “पहिला एक पटक गृहमन्त्री भएपछि प्रहरी कर्मचारी छनोट त हात्तीको दाँतजस्तो सबै आफ्ना मान्छे भर्ना गर्ने थलोको रुपमा विकास हुदैँ आएकोले यस्तो गृहमन्त्रीकरण प्रहरीमा हावी हुन दिन हुँदैन । खुमबहादुर खड्काले आफू गृह मन्त्री हँुदा आफ्ना धेरै मान्छे प्रहरीमा भर्ना गराएका थिए ।”

प्रहरीमा व्यक्ति केन्द्रित हुने सिस्टमको परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ । राज्यको दाहित्य बदलिँदो परिस्थितीमा प्रहरीलाई श्रोत साधनमा पहुँच पु-याउनुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशका सांसदद्वय राजिव पहारी र कृष्ण थापाले स्वस्थ नागरिक उत्पादन गर्न शारीरिक रुपमा सक्षम हुनको लागि शारीरिक व्यायाम केन्द्रहरु समेत आवश्यक भएकोमा जोड दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीमा लागुऔषध ठूलो समस्याको रुपमा रहेको बताए ।
व्यायामशाला निर्माणको लागि १३ लाख ५२ हजार ६ सय ६३ रुपैयाँ खर्च भएको कोषाध्यक्ष अमृत भट्टराईले बताए । विभिन्न दाताबाट संकलन भएको रकमबाट उक्त व्यायामशाला निर्माण गरिएको उनले जनाए ।