कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६
481

 धनगढी-सुदूरपश्चिम प्रदेशसभामा प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभाको मंगलबारको बैठकमा सो विधेयक टेबुल गरेका हुन् । विधेयक पास भएपछि प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको बाटो पाउने छ ।
विधेयक पेश भएपछि मन्त्री शाहले सो विधेयक पारित भएपछि प्रदेशका विकास निर्माणका कामले गति लिने बताए । “अहिले कर्मचारीको अभावमा धेरै काम ठप्प छन् । यो विधेयक पास भएपछि निक्कै सजिलो हुनेछ ।” प्रदेशसभाका निमित्त सचिव तेजप्रकाश जोशीका अनुसार सो विधेयक पास हुन कम्तिमा पनि १५ दिन लाग्न सक्छ ।

महत्वपूर्ण क्षेत्रमा बजेट छुट्याउन माग
सुदूरपश्चिम प्रदेशसभाको जारी बजेट अधिवेशनको मंगलबार बसेको बैठकमा प्रदेश सभा सदस्यहरुले आउँदो वर्षका लागि दीर्घकालीन महत्वका क्षेत्रमा विशेष बजेट छुट्याउन माग गरेका छन् । बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता रणबहादुर रावलले दीर्घकालीन महत्वका क्षेत्रमा बजेट नछुट्याए बजेट नै पास हुन नदिने बताए । वितरणमुखी बजेट ल्याए अवरोध गरेर कुनैपनि हालतमा पारित हुन नदिने उनले चेतावनी दिए ।
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सचेतक अक्कलबहादुर रावलले भने संघीय संसद्का कारण प्रदेश सरकारले धेरै काम गर्न नसकेकाले संघर्ष गरेर अधिकार लिनुपर्ने बताए । सत्तापक्षकै सांसद पूर्णा जोशीले पर्यटनका क्षेत्रमा ठूलो माहौल सृजना गर्ने गरेर प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने माग गरिन् । उनले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खप्तडलाई केन्द्र भागमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
बैठकमा प्रतिपक्षी दलका नेता रावल र सत्तापक्षकी जोशीले समानुपातिक प्रदेशसभा सदस्यले पनि प्रत्यक्षबाट निर्वाचित सदस्य बराबरैको बजेट पाउनुपर्ने माग दोहो¥याए । जोशी सत्तापक्ष नेकपाबाट समानुपातिक सांसद हुन् । नेपाली कांग्रेसबाट प्रदेशसभामा चार जना प्रत्यक्ष र आठ जना समानुपातिक सांसद छन् । नेकपाका ३९ जना प्रदेशसभा सदस्यमध्ये १२ जना समानुपातिक छन् । राजपाका दुई सांसदमध्ये एकजना निर्वाचित हुन् । प्रदेश सरकारले चालू आर्थिक वर्षमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रत्यक्षबाट निर्वाचित सांसदलाई दुई करोड रुपैयाँ विनियोजन गरेको थियो ।