कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६
414

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले जनतालाई सुशासन दिन नसकेको, स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, भ्रष्टाचारमा डुबेको लगायतका आरोप लगाउँदै नेविसंघ प्रदर्शनमा उत्रिएको हो ।
शंकरदेव क्याम्पसबाट सुरु भएको नेविसंघको जुलस बागबजार, पुतलीसडक हुँदै पद्मकन्या क्यापस अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थी नेताहरुले सरकार नसच्चिए कडा आन्दोलन चर्काउने चेतावनी दिए । कोणसभालाई विद्यार्थी नेताहरु मोतिलाल भण्डारी, लिलावल्लभ दाहाल, शिव रिमाल लगायतले सम्बोधन गरेका थिए ।
सरकारले राष्ट्रियतामाथि नै आँच पुग्ने गरी संविधानविपरीत नागरिकता वितरण गरेको, सत्ता र शक्तिको आडमा संवैधानिक निकायमाथि हस्तक्षेप बढाएको, स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण राख्ने गरी अधिनायकवादतर्फ उन्मुख भएका कारण सरकारविरुद्ध प्रदर्शन गरिएको विद्यार्थी नेता भण्डारीले बताए ।