कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
413

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारका गतिविधि विरुद्धमा सडकदेखि सदनसम्म सशक्त रुपमा प्रस्तुत हुने परिस्थिति सिर्जना भएको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार आयोजित राष्ट्रिय जागरण अभियान अन्तर्गतको कार्यक्रममा उनले सरकारविरुद्ध सशक्त रुपमा उत्रिने परिस्थिति आएकाले सबैले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सरकारका गतिविधि प्रेस विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने भएकाले कांग्रेस प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने खाँणको भनाइ थियो । मुलुक परिवर्तन र विकासको मियो नै कांग्रेस भएको जिकिर गर्दै उनले कांग्रेसले गरेको विकास माओवादीको सशस्त्र विद्रोहमा नष्ट गरिएको बताए ।
पार्टीले केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका नेता खाँणले सरकार एक दलिय शासन लादेर सय थुङ्गा फूलको माला चुँडाउन खोजिरहेको टिप्पणी गरे । कांग्रेसले विरोधका लागि मात्रै सरकारको विरोध नगरेको स्पष्ट पार्दै उनले भने, “जन अधिकार, लोकतान्त्रिक मूल्य मान्यता विरोधी भएको हुनाले हामी सरकारको विरोध गरिरहेका हौं ।”