कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
373

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ मा आइतबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध आउन थालेको बताए ।
प्रधानमन्त्री ओलीको बोलीबाट मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने भन्दै उनले जिम्मेवार बन्न आग्रह गरे । “प्रधानमन्त्रीमा अहंकार र दम्भ बढेको छ । संविधान केही हैन, अब म जे बोल्छु त्यही सबैले मान्नु पर्छ भने जस्तो गरी प्रस्तुत हुनु अशोभनिय हो,” नेता सिंहले भने ।

संविधानभन्दा माथि कोही हुन नसक्ने भन्दै उनले प्रधानमन्त्री ओलीलाई दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न सुझाव दिए । सरकारसँग जनताका अनेक अपेक्षा भए पनि सरकार केवल भाषणमा मात्रै सीमित रहेको सिंहको टिप्पणी थियो । जनतासँग भावनात्मक सम्बन्ध टुटेका दिन प्रधानमन्त्री ओलीको अहंकारको अन्त्य हुने उनले दाबी गरे । “यो सरकार कुरामात्रै गर्ने, काम केही नगर्ने, केबल प्रचारबाजीमा अल्झिएको छ,” नेता सिंहले भने, “जुन दिन जनतासँग सरकारको भावनात्मक सम्बन्ध टुट्छ, त्यही दिन बल्ल प्रधानमन्त्रीको अहंकार अन्त्य हुन्छ ।”
पार्टी–संगठन विधिसम्मत ढंगबाट चलाउन नसके वर्तमान चुनौतीको सामना गर्न नसकिने भन्दै उनले सबैलाई अनुशासित भएर विधि–पद्धति अनुसार चल्न आग्रह गरे । पार्टीको कार्यकता भन्ने तर विधि–पद्धतिमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो नहुने सिंहको भनाइ थियो ।