कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५
612

ग्लोबल इन्टरप्रेनरसिप बुटक्याम्प, जीईबीको तेस्रो संस्करण इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न भएको छ । उद्यमशीलता विकास, अनुसन्धान एवं व्यावसायिक विस्तारका लागि विश्वमै उत्कृष्ट मानिएको ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्पले युवाहरूको आधुनिक सोचलाई व्यावसायिक मोडेलमा रूपमान्तरण गर्ने एउटा महत्वपूर्ण कोसेढुंगा सावित भएको जीईबीका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रममा करिब ३५ भन्दा बढी राष्ट्रबाट १ सय ६० भन्दा बढी सहभागीहरूको उपस्थिति थियो । कार्यक्रममा नयाँ बिजनेस मोडलको बारेमा ४ दिनसम्म अन्तरक्रिया एवं छलफल भएको थियो । विश्व प्रसिद्ध १७ जना वक्ताहरू सामेल उक्त जीईबीमा उद्यमशिलताको व्यक्तिगत विकास, आधारभूत माध्यम एवं उद्यमशीलतामा संलग्न व्यक्तिहरूलाई उत्प्रेरणा दिन महत्वपूर्ण विषयहरूका बारेमा छलफल र सुझावहरू दिइएको थियो ।

एमआईटी अमेरिकाका प्रोफेसर राजेश नायर, फोब्र्स ३० अन्डर ३० का मिजानुर रहमान किरोन र लियानिका सारी, सोका विश्वविद्यालय जापानका प्रा.डा. ताकेशी मियाजाकी, वोल्ड इकोनोमिक फोरमका डा. रिनाड शिउ, जस्ट ईट युकेका अर्बपति अस अलि, सिंगापुर टेलिकम कम्पनीका डाइरेक्टर डोनाल्ड चाँग, इन्डोनेसियाका अर्बपति आन्ड्रियन लिम र डेबिड शोकासिङ लगायतले महत्वपूर्ण सुझावहरू दिएका थिए ।
४ दिनसम्म सञ्चालित कार्यक्रममा विश्व प्रसिद्ध एन्जल इन्भेस्टरको सहभागितामा करिब १७ वटा नयाँ बिजनेस योजनाहरूको प्रस्तुति गरेका थिए ।
विश्व उद्यमी सम्मेलनमा उपस्थित सम्पूर्ण सहभागीहरूलाई ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्पकी महाप्रवन्धक पार्शु अर्यालले धन्यवाद दिँदै आगामी कार्यक्रम भियतनाममा हुने घोषणा गरिएको थियो ।