कारोबार संवाददाता
सोमवार, असार २९, २०७७
545

गोकर्ण अधिकारी टोकियो, जापान -नयाँ कोरोना भाइरस संक्रमण दोस्रो चरणमा फैलंदा नियन्त्रणको लागि कडा मेहनत गरिरहेको जापानलाई यही समय प्राकृतिक बिपत्तिको दोहोरो मार थोपरिएको छ ।

गत साता दक्षिण पश्चिम जापान क्षेत्रमा आएको भिषण बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानमा परेर कम्तिमा ७२ जनाले ज्यान गुमाएका छन् । अझै १४ जना हराईरहेको स्थानिय अधिकारीहरुले बताएका छन् ।

कुमामोतो प्रिफेक्चरलाई अस्तव्यस्त बनाउँदा प्रभावित क्षेत्रहरुमा करिव ७ लाख नागरिकको उठिबास लागेको छ ।
केहीलाई पुरानै स्थानमा पुर्नस्थापित गर्ने अवस्था रहेपनि लाखौं नागरिकको बासस्थान पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बिपदमा परेका नागरिकलाई पिडामा मल्हम लगाउन प्रधानमन्त्री आबे शिन्जो अति प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनले कोरोना महामारीको असरमा परेका नागरिकमा प्राकृतिक बिपत्तिले हृदयबिदारक अवस्था सिर्जना गरेकोबारे आफु जानकार रहेको सो अवसरमा बताएका छन् ।
प्रभावित क्षेत्रबाटै प्रधानमन्त्री आबे शिन्जोले ४ खर्ब जापानी येनको पुर्ननिर्माण तथा राहतको एकिकृत बजेट घोषणा समेत गरेका छन् ।

यसबाट नागरिकहरुलाई आवास सहित क्षतिग्रस्त व्यवसाय लगायत सबै क्षेत्रमा सहयोग उपलब्ध गराईने भएको छ ।

कोरोना संक्रमण बृद्धिले अर्थतन्त्र धरापमा

जापानमा दुईसाता यता कोभिड-१९ संक्रमितहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।

दैनिक ३ सय बढी भाइरस संक्रमित बिरामी थपिंदा संक्रमितको संख्या २२ हजारबाट उकालो लागिसकेको छ ।

संक्रमण देशभर फैलंदै जाँदा यसअघि दुई महिना लागू गरेर हटाईएको आपतकाल पुन लाग्नसक्ने अनुमानहरु गरिन थालेका छन् ।

राजधानी टोकियोमा मात्र संक्रमितको संख्या ८ हजार नाघिसकेको छ । यहाँ हप्तादिन यता २ सयको संख्यामा कोरोना संक्रमितहरु थपिन थालेका छन् ।

कोरोना संक्रमणबाट जापानमा ज्यान गुमाउनेको संख्या १ हजार पुग्न लागेको छ ।
संक्रमित मध्ये १७ हजार बढी व्यक्ति भने निको भएर घर फर्किसकेको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमकै स्तरमा रहँदा जापानमाथी पाँच दर्जन बढी देशले प्रतिबन्धको घोषणा गरेका छन् ।

जापानले पनी १ सय ३० बढी देशमाथी प्रवेश प्रतिबन्धको घोषणा गरेको छ । जसका कारण जापानमा पर्यटक आगमन एक प्रतिशत भन्दा कम रहेको छ ।

यसले जापानको समग्र अर्थतन्त्रमा असर पार्दा रोजगारी गुमाउनेहरुको संख्या हरेक महिना बढ्न थालेको छ ।

जापानले अर्ततन्त्रलाई चलायमान बनाउन व्यवसायी, व्यापारी देखी प्रत्येक नागरिकहरुलाई प्रत्यक्ष राहतको घोषणा गरेको भएपनि दोस्रो लहरमा कोरोना भाइरस संक्रमण फैलंदा जापान आर्थिक मन्दिमा फस्ने खतरातर्फ उन्मुख हुँदै गएको छ ।