कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
589

गैरआवासीय नेपाली संघ (एनआरएनए)का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका, आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री सात लाख ३३ हजार रुपैयाँ बराबरका रहेका छन् ।
सहकोषाध्यक्ष दाहालका अनुसार १०० थना पिपिइ सेट, एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायतका सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । विश्वव्यापी विपद्का रूपमा देखिएको कोरोना भाइरससँग जुुध्नका लागि नेपाली हुनुको हैसियतले संकटको समयमा सहयोग उपलब्ध गराइएको उनको भनाइ छ ।

युरोपका विभिन्न देशले सामाजिक दूरी कायम राख्न, मास्क, पञ्जालगायतका व्यक्तिगत सुरक्षा सामग्री लगाएरमात्रै बाहिर निस्कन कडा निर्देशन दिएको एनआरएनएले जनाएको छ । मास्क र पञ्जा नलगाई हिँड्नेलाई पक्राउ गरी कारवाही गर्ने र जेलसमेत हाल्ने चेतावनी दिएको छ । विशेषगरी साइप्रस, माल्टालगायत देशमा भने सबैभन्दा बढी मारमा विद्यार्थी र कामदार परेको जानकारी आएको उनले बताए ।
केही मुलुकले त नेपाल फर्कन चाहने भए सहजीकरण गरिदिन विद्यार्थीलाई आग्रहसमेत गरेका छन् । लकडाउन खुले पनि तत्काल काम पाउने अवस्था नभएका कारण कामदार प्रवेशाज्ञामा पुगेका र विद्यार्थीका लागि भने समस्या पर्ने देखिएको छ । बेलायतबाहेक अन्य देशमा नेपाली संक्रमित भए पनि मृत्युको अवस्था भने न्यून रहेको र संक्रमित पनि क्रमशः निको भएर आफ्नो निवास फर्किसकेको अवस्था रहेको उनले बताए ।