निरु अर्याल
बुधवार, मंसिर १८, २०७६
476

 

महिला हिंसाविरुद्धको १६ दिने अभियान

तुलसीपुर दाङकी ३२ वर्षिया रमा चौधरी भारतको बाटो भएर कुबेत गइन् र बेपत्ता भइन् । रमाका श्रीमान् श्रीमतीको खोजी गरिदिन हारगुहार गर्दै राजधानी आइपुगे र वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा शरण लिन पुगे । तर रमाको अवस्था अहिले पनि अज्ञात छ । अघिल्लो वर्षमात्रै महानगरीय अपराध प्रहरी महाशाखाले १ सय १७ जना महिलालाई उद्धार ग-यो र परिवारको जिम्मा लगायो । महाशाखाका अनुसार ती महिलाहरू राम्रो कामको प्रलोभनमा पारेर बेचिन र ठगिन लागेका थिए ।
नेपाली महिलाहरूलाई ४ लाख रुपैयाँमा बेचेर खाडी मुलुक पु-याउने तथ्य सार्वजनिक भएपछि सरकारले करिब दुई वर्षअघि सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन पूर्ण रुपमा प्रतिबन्ध लगायो । जसका कारण हजारौँ महिलाहरू छुट्टीमा आएर काममा फर्किन पाएनन् । त्यसको चौतर्फि विरोध भएपछि हाल भने आंशिक रुपमा खुला गरेको छ ।
यी त वैदेशिक रोजगारीको क्षेत्रमा महिलामथि हुने गरेका हिंसाका प्रतिनिधि घटना मात्रै हुन् । मिठो खाने, राम्रो लाउने र जिवनस्तर उकास्ने हजारौं सपना बोकेर महिला दलालको फन्दामा पर्ने गर्छन् । अर्कोतिर सरकारको फितलो नीति र प्रभावकारी कार्यान्वयन नहुँदा महिलाहरू हिंसाको शिकार बन्दै आएका छन् ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले नीति बनेको करिव ६ वर्षपछि आएको वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण सम्बन्धी आवश्यक कार्य गर्ने–गराउने, विदेशबाट फर्की आएका कामदारको सीप, पुँजी र सिकेको प्रविधि उपयोग गरी राष्ट्रहितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने, विभिन्न मुलुकसँग गरिने श्रम सम्झौता सम्बन्धी आवश्यक कार्य गर्ने लगायतका व्यवस्था गरिएका छन् ।
यस्तै वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्ने, वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत गर्ने, वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने व्यवस्था ऐनमा उल्लेख छ । भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुने र वैदेशिक रोजगारीका विषयमा कामदारहरू नै अनबिज्ञ हुँदा महिलाहरू थप समस्यामा पर्ने गरेको जानकारहरू बताउँछन् ।
कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा रोजगारीमा जाने महिलाहरू थप हिंसाको शिकार बन्ने महिला अधिकारकर्मी शरु जोशी श्रेष्ठको भनाइ छ । “कमजोर संयन्त्र र आम जनतामा चेतनाको अभावले गर्दा वैदेशिक रोजगारी व्यवस्थित र नियमित बन्नसकेको छैन,” उनी भन्छिन्, “संगठित क्षेत्रमा क्लिनरको भिसामा लगेर महिलालाई घरेलु काममा लगाउने प्रवृत्ति छ, यसतर्फ ध्यान जान सकेको छैन ।”
नेपाली महिलाहरूलाई ४ लाख रुपैयाँमा बेचेर खाडी मुलुक पु-याउने गरिएको भन्दै सरकारले दुुई वर्षअघि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध गरेपनि हाल खुल्ला गरेको छ । यद्यपि अभैm पनि छुट्टी मनाउन नेपाल आएर कतिपय महिला फर्किन सकेका छैनन् । हालको अवस्थामा वैदेशिक रोजगारको क्षेत्रमा संस्थागत व्यवस्थातर्पm २०३८ मा श्रम विभाग, वैदेशिक विभाग प्रवद्र्धन बोर्ड २०६५, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधीकरण, रोजगार अनुपति प्रणाली इपीएस कोरिया शाखा, नेपाल सरकार स्थानीय निकाय संलग्न छन् । यद्यपि यी निकायले पनि महिलाको बिषयमा खासै उपलब्धी हासिल गर्न सकेका छैनन् । जसले गर्दा वैदेशिक रोजगारीमा जाने महिलाहरूमा हिंसा बढी हुने गरेको देखिन्छ ।
बेचविखनमा परेको महिलाहरूलाई सहयोग गर्दै आएको पौरखी नेपाल नामक संस्थाले मात्र पछिल्लो ७ वर्षमा १ हजार ६ सय ५५ जना महिलालाई एयरपोर्टबाट फर्काएको दाबी गरेको छ । संस्थाका अनुसार कतिपय महिलाहरू घरेलु कामदारको रुपमा गुपचुप बिदेश जाने हजारौ नेपाली महिलाहरू साहुको घरमा वर्षौंदेखि गुमनाम अवस्थामा छन् । विशेषगरी युएई, कुवेत, कतार, मलेशिया, साउदी अरव, दक्षिण अफ्रिका, श्रीलंका, मकाउ, ओमानलगायतका देश वैदेशिक रोजगारीका मुख्य गन्तव्य पर्ने गरेका छन् ।
वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक युएई पुगेकी २८ वर्षे युवती ममता श्रेष्ठको बुझाइमा अधिकांश महिलाहरू आफू जाने देशको ऐन कानुनसँग अभ्यस्त हुँदैनन् । आकर्षक कमाइ र बिलासी जीवनशैलीको लोभमा महिलाहरूलाई विभिन्न प्रलोभनमा पारिन्छ । त्यसको शिकार महिला बन्छन् । कतिपय त घर न घाट जस्तो भएर बस्ने अवस्थामा पुगेको उनको तर्क छ । उनी भन्छिन् “अवैध बाटो भएर रोजगारीमा आउने महिलाको अवस्था झनै कहालिलाग्दो छ ।” वैधानिक रुपमा घरेलु कामदारका रुपमा आउने कतिपय महिलाहरू समेत हिंसाको शिकार हुने गरेको उनको बुझाइ छ । “कामदारकै रुपमा आएका महिलाहरू आमा बनिसकेपछि जम्मा २ महिनाको छुट्टी दिइन्छ । बच्चा हेर्ने न त मान्छे नै हुन्छ न त कम्पनीले बेवीकेयर व्यवस्था नै गरेको हुन्छ,” ममता भन्छिन्, “यतिसम्म कि सुत्केरी महिलाहरूले बच्चालाई स्तनपान गराउने समेत ठाउँ हुँदैन ।” नेपालमा भने संविधानको धारा ३८ मा महिलाको प्रजनन सम्बन्धी हक सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको कानुनले नेपालमा हालै मात्र अविवाहित महिलालाई पनि आमा बन्ने बाटो खुुलेपनि खाडी राष्ट्रमा विवाह नगरी गर्भवती हुनुलाई कानुन विपरित मानिन्छ ।
उनले काम र ज्याला समान भएपनि आप्रवासी कामदारको लागि ती देशको नीति नै फरक हुने गरेको अनुभव पनि सुनाइन् । “वैधानिक रुपबाट आएपनि आफ्ना नागरिकलाई र विदेशी नागरिकलाई हेर्ने नजर, सुविधा, अवसर सबै फरक छ । गैरकानुनी बाटोबाट आउनेको त कुरै छोडौं,” उनले भनिन् । हालसम्म गैरकानुनी माध्यमबाट बैदेशिक रोजगारीमा गएका कति नेपाली महिला विदेशीको घरमा गुमनाम छन्, तिनीहरूको अवस्था कस्तो छ भन्ने कुरा न त परिवारका सदस्यलाई थाहा छ, न त सरकारलाई नै ।
वैदेशिक रोजगारीकै शिलशिलामा ५ वर्षअघि कतार पुगेकी अन्जु न्यौपानेको अनुभव पनि ममतासँग मिल्दोजुल्दो छ । कतिपय वैदेशिक रोजगारीमा जाने महिलाहरू मानसिक मात्रै होइन, शारीरिक हिंसाको शिकार हुने गरेका छन् ।
“भाषा र सीप बिना कुनै पनि मुलुकमा रोजगारीका लागि प्रवेश नगर्नु नै उत्तम उपाय हो,” उनी भन्छिन्, “वैदेशिक रोजगारी भन्ने बित्तिकै हामीले सहज सोच्छौ । नियम कानुनसँग अभ्यस्त हुन सकिएन भने त्यो भन्दा डरलाग्दो हिंसा केही हुँदैन । हाम्रा दिदी बहिनीमा पर्ने हिंसा पनि यसैको उपज हो ।”
विश्वभर १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रम चलिरहँदा नेपाली महिलाहरूको निक्कै ठूला र भयानक हिंसाका रुपहरू बाहिर आएको र यीनलाई टुंगोमा पु-याउनु पर्ने न्यौपाने बताउँछिन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार मान्ने हो भने दैनिक १६ सय युवाहरू रोजगारीका लागि बिदेसिन्छन् । त्यसमध्ये औषतमा ६ प्रतिशत महिलाको हिस्सा छ । यो तथ्यांकभन्दा डरलाग्दो र भयानक तथ्यांक वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको छ । वैदेशिक रोजगारीका लागि खासगरी घरेलु काममा गएका महिलाहरूले अत्यधिक कार्य चाप, मानसिक पिडा, शारिरिक हिंसा, कुटपिट, अमर्यादित काम र व्यवहार, तलब नपाउने तथा यौनजन्य दुव्र्यवारहरू महिलाले खेप्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघीय महिला विकास कार्यक्रम (यूएनवुमन) मा लामो समय रणनितीक साझेदारका रुपमा काम गरिसकेकी श्रेष्ठ घरको कामका लागि विदेश जाने महिला कठोर नियम कानुन भएको खाडी राष्ट्रमा चाहेर पनि सुरक्षित हुन नसकेको बताउँछिन् । उनको बुझाईमा हाल कार्यान्वयनमा रहेका विद्यमान ऐन तथा नीतिहरू वैदेशिक रोजगारीको सवालमा महिलामैत्री पटक्कै छैनन् । समान नीति नियम कानुन भएपनि महिलाहरू आफै सजग हुनु पर्ने उनको सुझाव छ ।
अनौपचारिक तथा उद्धारमा सहयोग गरिरहेको एउटा मात्र सस्थाको तथ्यांक हेर्न हो भने विदेशमा नेपाली महिलाको अवस्था भयाभह रहेको बुझ्न सकिन्छ । साउदी अरब, कतार, कुवेत लगायतका खाडी मुलुकमा हाल करिब १ लाख ५० हजार नेपाली घरेलु कामदारको रुपमा कार्यरत रहेको बैदेशिक रोजगार विभागको अनुमान छ । तीमध्ये जम्मा ४ प्रतिशत मात्र घरेलु हिंसामा परेको तथा ८ प्रतिशत मात्र गैरकानुनी हैसियतमा बसेको पौरखी नेपाल र घरेलु कामदार सरोकार समाजको दाबी छ ।

कसरी फस्छन् दलालको फन्दामा ?
नेपाली महिलाको गुपचुप विदेश जाने योजनासँगै ठगी श्रृंखला समेत शुरु हुने अधिकारकर्मी गुरुङको बुझाइ छ । समस्या पर्दा सहयोग पाउने स्थान थाहा नभएर विशेषगरी शारिरिक मानसिक तथा श्रम शोषणमा महिलाहरू पर्ने गरेको उनले बताइन् । “अवैधानिक तरिकाले भारतको हवाई मार्गबाट श्रम स्विकृति नगरी जाने महिलाको कार्यस्थल र जिम्मा लिने व्यक्तिको सम्पर्क नहुने भएकाले उद्धारमा समस्या आउने गरेको पाउँछौ,” उनी भन्छिन् । उनका अनुुसार बिदेशमा आपतमा परेका नेपाली महिलाको उद्धारमा स्वदेश तथा बिदेशमा धेरै निकायले सहयोगका लागि काम गरिरहेको भएपनि वैधानिक तरिकाले गएका बाहेकका महिलाको खोजीमा कठिनाइ हुने गरेको छ ।

कहाँ सम्पर्क गर्ने ?
स्वदेशमा मात्रै होइन, विदेशमा आपत विपत परेका नेपाली महिलाको सहयोगार्थ थुप्रै संस्थाहरू स्थापना भएका छन् । आपत विपतमा पर्ने महिलाहरूले आफू कार्यरत रहेको देशमा रहेको राजदूतावास, बिदेश स्थित कूटनीतिक नियोग, एनआरएन, विदेशमा रहेका नेपाली संघसस्था, नेपाली कामदार तथा स्वदेशमा वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, माईती नेपाल, पौरखी नेपाल, यूएन वुमन लगायतमा सम्पर्क गर्न सकेमा छिटै राहात पाउन सकिन्छ ।

कति छन् महिला ? 
विगत २ दशकयताको तथ्यांकलाई हेर्ने हो भने सरकारबाट श्रमस्वीकृति लिएर पछिल्लो २४ वर्षमा ५० लाख नेपाली रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि जाने कुल कामदारको संख्या अनुपातमा महिला कामदार ६ दशमलब २ प्रतिशत हुन आउछ ।
ठूलो संख्यामा महिला कामदार अवैध बाटोबाट जाने गरेको हुँदा यो संख्या १० देखी ११ प्रतिशतसम्म रहेको आप्रवासनमा संलग्न संस्था र विज्ञको अनुमान छ । यद्यपि वैदेशिक रोजगारीमा गएर फर्केकाको तथ्यांक हालसम्म पनि राज्यले एकिन गर्न सकेको छैन ।
वैदेशिक रोजगारीलाई भरपर्दो र व्यवस्थित बनाउन १ वर्षअघि खाडी मुलुकमा घरेलु कामदारमा प्रतिबन्ध फुकुवा गरेपछि अब छिट्टै अनिबार्य सिपको व्यवस्था गर्न लागेको छ । सरकारले बैदेशिक रोजगारीमा जानेहरूले अनिबार्य रुपमा सिप सिक्ने व्यवस्था लागु गरिने जनाएको छ ।