कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
535

भारतले जारी गरेको नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति गैर आवासीय नेपाली संघ, जापानको अगुवाईमा शान्तिपूर्ण विरोध -याली आयोजना गरिएको छ । जापान स्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले टोकियोमा शान्तिपूर्ण विरोध -यालीसहित ज्ञापनपत्र बुझाएका हुन् ।
एनआरएनए आईसीसीको निर्णय अनुसार विरोध स्वरुप एनआरएनए जापानको संयोजनमा सोमवार भारतीय दूतावासअघि भेला भई शान्तिपूर्ण -याली र ज्ञापनपत्र बाचन गरिएको हो । ज्ञापानपत्र बुझाउने प्रयास भए पनि दूतावासले आन्तरिक नियम भन्दै लिखित ज्ञापनपत्र भने बुझ्न अस्विकार गरेको जनाएको छ । प्रत्यक्षरुपमा लिन अस्विकार गरेपनि हुलाक मार्फत् पठाउन मिल्ने र हालसम्म त्यही प्रावधान अनुसार दूतावासको ठेगानामा ज्ञापनपत्र पठाइएको जनाइएको छ । ब्यानर तथा नेपाली राष्ट्रिय झण्डा सहित उपस्थित नेपाली समुदायहरुले केहि क्षण भारतीय विस्तारवादका विरुद्ध नाराबाजी समेत गरेका थिए ।
संघका आईसीसी कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महासचिव जनक विक्रम शाही लगायतका अन्य पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले तथा अन्य राजनीतिक भ्रातृ संगठनका प्रतिनिधि एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।