कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
516

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदान स्थगित भएको छ। साँझ करिब ८.३० बजे सुरु भएको मतदान आधा घन्टाभन्दा केही समय बढी समयसम्म मात्र भएर स्थगित भएको हो।
मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो। सो मेसिन बिग्रिएको भन्दै निर्वाचन समितिले मतदानकाको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेबाट पुनः मतदान हुने गरी मतदानका कार्यक्रम स्थगित गरिएको भन्दै समितिले मतदानको कार्यक्रम स्थगित गरेको सूचना टाँस गरेको छ। विश्वका विभिन्न ८१ देशबाट सम्मेलनका लागि जम्मा २ हजार ६ सय ५६ जना प्रतिनिधि आएका छन् ।
सम्मेलन तथा महाधिवेशनले सन् २०१९–२०२१ का लागि नयाँ नेतृत्व चयन गर्न बुधबार राति सुरु भएको मतदान स्थगीत भएतापनि विहीबार विहान पुनः सुरु हुनेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त तथा कुल आचार्य चुनावी मैदानमा भिडेका छन् । गैरराजनीतिक संस्था गैरआवासीय नेपाली संघमा चुनावका कारण राजनीति मिसाएदेखि विविध आरोप लागे पनि बिहीबार साँझसम्ममा पन्त वा आचार्यमध्ये कसले संस्था हाक्ने निश्चित भै सक्ने छ ।
यस्तै, उपाध्यक्षमा नौजना र महिला उपाध्यक्षमा दुई जनाबीच चुनाव हँुदैछ भने महासचिवमा जानकी गुरुङ र दिपकप्रसाद कँडेल चुनाव लड्दैछन् । सचिवमा ७ जना, कोषाध्यक्षमा तीनजना, सहकोषाध्यक्षमा २ जना, महिला संयोजकमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । यस्तै, ९ पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई पदमा कुनै पनि उम्मेद्वारी दर्ता भएको छैन । क्षेत्रिय उपसंयोजक र युवा उपसंयोजक (अफ्रिका) मा कुनै पनि उम्मेद्वारी परेन । युवा संयोजक हिमाल गुरुङ, क्षेत्रिय महिला संयोजक जानकी पौडेल, क्षेत्रिय महिला संयोजक (ओसियाना) बाट राजकुमार थपलिया, क्षेत्रिय महिला संयोजक (एसिया प्रसान्त) बाट अमृत थापा, क्षेत्रिय संयोजक (अफ्रिका) बाट रोशन थापा निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, मध्यपूर्व क्षेत्रिय संयोजक, क्षेत्रिय महिला संयोजक र युवा संयोजकतर्फ प्रविण गुरुङ, देवी पौडेल र राजु रेग्मी निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्रिय युवा संयोजक (अमेरिका) बाट विमल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।


सातामा धेरै पढिएको