कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
345

यूएई - यही महिना काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनको लागि जापानका पुराना तथा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । आफू लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिँदै आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत् उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको उनले बताएका छन् ।
रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात निर्यात, भौतिक पूर्वाधार लगायतका व्यावसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्र्याउने कार्यमा सक्रिय श्रेष्ठले वित्तिय क्षेत्र आफ्नो अध्ययन र रुचीको क्षेत्र भएकोले यस क्षेत्रमा हासिल गरेको अनुभवलाई सोहीअनुसारको जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्न चाहेको बताउँदै आएका छन् ।

एक विज्ञप्तीमार्फत् श्रेष्ठले एनआरएन अभियानमा कोषाध्यक्षको दावी गर्दै गैरआवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुख्य मुद्दाका रुपमा अगाडि सारेका छन् । हाल एनआरएनए आइसीसी सदस्य रहेका श्रेष्ठले गैरआवासीय श्रमिक कल्याण कोष स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्वलाई जोड दिँदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
“विगत १४ वर्ष अघि देखि नै गैरआवासीय नेपाली संघको विभिन्न निकायको जिम्मेवारीमा रही काम गरिसकेको एनआरएनएको एक जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु,” उनले भने । विगत लामो समयदेखि आर्थिक तथा वित्तिय क्षेत्रमा काम गरेको मेरो अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने कोषाध्यक्ष पद नै उपयुक्त भएकोले यस गरिमामय पदका लागि आफू योग्य भएको उनको ठहर छ ।