कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
571

आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि यतिबेला उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । यसै क्रममा मध्यपूर्वका देशहरूमा पनि एनआरएनएको चुनावको चर्चा बढेको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितका लागि सरकारबाट मान्यता प्राप्त संस्थाको नजिँकैदै गरेको अधिवेशनलाई गल्फबाट पनि निकै चासोको रुपमा हेरिएको छ । नेपाल छाडेर विदेशमा स्थायी बसोबास गर्ने नेपालीहरूको अवधारणामा सुरु भएको संस्थामा अहिले भने दुई वर्ष नेपाल छोडेर विदेश बसेको नेपाली नागरिक यसको सदस्य बन्न सक्ने हुँदा  यसको दायरा फराकिलो हुँदै रोजगारको लागि अत्यधिक नेपाली रहेका गल्फतिर पनि फैलिँदै गएको छ ।

वैदेशिक रोजगारका निकै समस्यहरू रहेका यी देशहरूबाट केन्द्रमा हुने प्रतिनिधित्व बाट अत्यधिक समस्याहरू समाधान हुन सक्ने धेरैको बुझाइ छ । यहि बुझाइका कारण गल्फहरूमा एनआरएनको सक्रियता बढेको देखिन्छ । चुनावमा मात्रै ठूलाठूला नारा लिएर हिँड्ने तर नेतृत्वमा पुगेपछि सबै नारा बिर्सन्छन् भन्ने गरेको आरोपलाई चिरफार गर्न पनि यतिबेला गल्फको समस्या समाधान गर्ने उद्देश्यका साथ गल्फबाट एनआरएन अभियानकर्ता नेतृत्वको लागि होमिएका छन् ।
एनआरएनए ओमनको प्रवक्ता हुँदै ओमनकै अध्यक्ष, मध्यपूर्व संयोजक हुँदै केन्द्रिय सचिवमा रहेका हजारे अभियानका अभियानकर्ता ओमनमा रही व्यवसाय संचालन समेत गरेका डि बि क्षेत्री यतिबेला महासचिवको उम्मेदवारीको दौडधुपमा छन् । सिन्धुली घर भएका क्षेत्री सन् २००१ देखि ओमनमा रहँदै आएका छन् । दुई छोरा र श्रीमतीसहित ओमनमा बस्दै आएका उनी २००९ देखि एनआरएन अभियानमा होमिएका थिए ।
वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउन लागिपरेका क्षेत्रीले आफू नेतृत्वमा भएका बेला विभिन्न योजनाहरू ल्याउँदै र विभिन्न मागहरू सरकारसमक्ष राख्दै कार्यान्वयनको लागि दबाब दिँदै आएका छन् । मध्यपूर्व संयोजक भएकै बेलामा ल्याएको सामाजिक सुरक्षा अन्तर्गतको हजारे अभियान यतिबेला गल्फमा निकै चर्चामा छ । योजना ल्याए पनि कार्यान्वन हुन नसकेको यो कार्ययोजना भित्रका केही भागहरू सरकारले क्रमशः लागू गर्दै गरेको देखिन्छ । भर्खरै सरकारले लागू गरेको वैदेशिक रोजगारमा जानेहरूको अनिवार्य बैंक खाता, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा तथा अङ्गभङ्ग भएमा तिनीहरूका छोराछोरीहरूलाई सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति मासिक पाँच सय रुपैयाँ पनि त्यही हजारे अभियानकै एउटा पाटो हो । त्यस्तै वैदेशिक रोजगारमा जाँदा बढी मृत्यु हुने खाडीका देशमा मृत्यु भएकाहरूका परिवारहरूलाई सरकारले उपलब्ध गराउँदै आएको रकम पाँच लाखबाट बढाएर २७ लाखसम्म पु-याउन पनि मध्य पूर्वबाट चालिएको कदमको एक उदाहरण भने बर्षौसम्म रोकिएको घरेलु कामदारको पुनः श्रम स्वीकृतिको बाटो खुल्नु पनि सरकारलाई दिएको दबाबको अर्को पाटो हो । यस्ता थुप्रै योजनाहरू अगाडि सार्दै आएका क्षेत्रीले ती योजना कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी महासचिवमा रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको कार्यसमिति सदस्य हुँदै महासचिवदेखि अध्यक्ष तथा गल्फ संयोजक हुँदै केन्द्रिय सल्लाहकारसमेत भएका कतारमा बसेर व्यवसाय संचालन समेत गरेका हालका मानार्थ सदस्य नरेन्द्र भाटले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनएको अभियानमा मध्यपूर्वबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका भाट विगतमा पनि उपाध्यक्षको उम्मेदवारी दिए पनि जिम्मेवारीमा पुग्न सकेका थिएनन् । यसपटक भने सबैको साथ र समर्थनसहित आफू एनआरएनएको अभियानलाई निरन्तर दिँदै उम्मेदवारी दिएको बताए । उनले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन विशेषतः श्रमिक मजदूरहरूको हितमा समस्या पहिचान गरि समाधान गर्न नेपाल सरकारसँग पहल गर्ने भन्दै वैदेशिक रोजगारीबाट फर्किसकेका नेपालीहरूलाई स्वदेशमा नै स्वरोजगार बनाउन विशेष योजनासहित कार्ययोजना बनाउने र सिकेको सीप र क्षमतालाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने हुँदा नेपाल सरकारसँग समन्वय गरेर परियोजना बनाउनको लागि पनि आफ्नो उम्मेदवारी उपाध्यक्षको लागि भएको बताएका छन् ।
एनआरएनए एनसीसी कतारको सल्लाहकार, आईसीसी सदस्य हुँदै मध्यपूर्व संयोजकको नतेृत्व गर्दै कतारमा व्यवसाय गरेर बसेका आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । २०१९–०२१ कार्यकालका लागि सचिव पदको उम्मेदवारी घोषणा गर्दै उनले मध्यपूर्वमा रहेका नेपालीहरूको नेत्तृत्व गर्दै उम्मेदवारी दिने बताए । मध्यपूर्व संयोजक हुँदा प्रायः सबै देशहरूमा पुगेर श्रमिक नेपालीको समस्यालाई लिएर सम्बन्धित निकायमा पुगेर समस्या समाधान गर्दै आइरहेका शर्मा वैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरूको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरेका छन् ।
स्वास्थ्य सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरूले झेल्नुपरेको समस्याहरूलाई निराकरणदेखि दूतावासबाटै श्रम स्वीकृति दिलाउनेसम्मका कार्यहरूलाई जोड दिएका शर्माले मध्यपूर्वबाट लगानी तथा पर्यटक नेपाल भित्र्याउन पहल गर्दै आएका छन् । उनी यिनै कुराहरू कार्यान्वयन गर्नको लागि आफ्नो उम्मेदवारी सचिव पदमा रहेको बताउँछन् ।
गैरआवासीय नेपाली संघ युएईको २०१५–१७ कार्यकालमा सफल नेतृत्व गरेका समाज सेवामा क्रियाशिल युवा सुदिप कार्कीले एनआरएनएको युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अभियानमा साधारण सदस्य हुँदै एनआरएन युएईको उपाध्यक्ष हुँदै अध्यक्षको कार्यभार सम्हालेका कार्की अहिले एनआरएनको केन्द्रिय सदस्य हुन् ।
युएईको अध्यक्ष हुँदा थुप्रै उत्कृष्ट काम गरेका कार्कीले आफ्नो कार्यकालमा एनआरएन युएईलाई सबैको साझा संस्था बनाउन सफल भएका थिए । कार्की युवा संयोजगका बलिया दाबेदार मानिन्छन् । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने कार्कीले विश्वभरका नेपाली युवाको सीपलाई नेपालका युवासम्म ल्याउने र उनीहरूसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना रहेको बताए ।
“विभिन्न देशहरूमा छरिएर रहेका नेपाली युवाहरूको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने प्रयास गर्नेछु,” उनी भन्छन्, “अबको युग युवाहरूको युग हो भन्ने मान्यतालाई स्थापित गर्न लाग्नेछु, जसको लागि मसँग खास योजनाहरू छन् । त्यसैले युवा संयोजकको पद रोजेको हुँ ।” कार्कीले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचारप्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनेका साथै विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालबाट रोजगारका लागि जाने अधिकांश युवाहरू मध्यपूर्वी देशहरूमा कार्यरत छन् । खाडी मुलुकमै काम गरेर एनआरएनए अभियानमा लागेका कार्कीबाट युवा पिँढीले धेरै अपेक्षा राखेका छन् । आउने चुनावमा युवा संयोजक पदका लागि चर्चामा अरू पनि छन् तर, मध्यपूर्वबाट कार्कीले गरेको उम्मेदवारी घोषणालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेर अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ ले आफ्नो उमेदवारी मध्यपूर्व संयोजकमा दिने घोषणा गरेका छन् । उनले मध्यपूर्वमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताएका छन् । वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन आफूले उमेदवारी दिएको उनको दाबी छ ।
मध्यपूर्वमा कामदारका धेरै समस्यामात्रै भनियो तर दीर्घकालीन समाधान गरिएन । त्यसैले अब दीर्घकालीन रूपमा नै समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित यसपालिको निर्वाचनमा क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएको उनको दाबी छ । मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनले बताए । यसको अलावा संघका तत्कालीन मध्यपूर्व संयोजक तथा हालका सचिव डिबी क्षेत्रीको पहलमा थालनी भएको ‘हजारे अभियान’ लाई मूर्त रुपको लागि निरन्तरता दिने र सिन्धुलीमा निर्माणाधीन ‘सिन्धुलीगढी’ प्रोजेक्ट सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने पनि गोर्खालीको प्राथमिकतामा छन् ।