कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
458

गैरआवासीय नेपाली र नेपालको बारेमा स्वदेश तथा विदेशमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गर्न उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ का लागि आवेदन आह्वान गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ ।
विश्वको कुनै पनि कुनामा रहेर मातृभूमि नेपाल र नेपालीका लागि पत्रकारिता मार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो ।

यस वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विभिन्न आधार तोकेर आवेदन माग गरिएको छ ।
विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन र सन्चार गृहमार्फत् गैरआवासीय नेपालीका बारेमा नेपाली वा अंग्रेजी भाषामा कम्तीमा पाँच वर्ष लगातार मूलधारको मिडियामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरु पुरस्कारका लागि योग्य हुने जनाइएको छ । विभिन्न सञ्चार माध्यममा गैरआवासीय नेपालीका बारेमा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य,दृश्य सामग्रीहरुको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिने जनाइएको छ । गैरआवासीय नेपालीका जनजीवन लगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख, रचना तथा समाचारहरुलाई पुरस्कार छनौटमा प्राथमिकता दिइने छ ।
तोकिएको अवधिभित्र इच्छुक पत्रकारहरुलाई आफ्ना समाचार सामग्रीहरु पठाउन हुन अनुरोध गरिएको छ ।
एनआरएनएको पदाधिकारी र एक पटक पुरस्कृत भैसकेको व्यक्ति पुरस्कारमा सहभागी हुन नपाउने नियम रहेको एनआरएनएले जनाएको छ । पुरस्कृत व्यक्तिको छनौटका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता, गैरआवासीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके शाखाको परामर्शमा एक समिति बनाइने भएको छ ।
पुरस्कृत पत्रकारलाई एकल वा संयुक्त रुपमा जनही ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ प्रदान गरिने छ । पुरस्कृत पत्रकारलाई अक्टोबरमा काठमाडौंमा हुन गैरहेको संघको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिने छ ।