कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६
587

 

झापा: बिर्तामोडमा शनिबार भ्रमण वर्ष २०२०लाई लक्षित गरी खाना महोत्सव सम्पन्न भएको छ । महिला उद्यमी संघ झापाले आयोजना गरेको खाना महोत्सवमा उद्यमी महिलाले तयार पारेका खाद्य परिकार पाहुनालाई खुवाइएको थियो ।
मौलिक परिकारलाई प्रचार र व्यवसायिक प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ । खाद्यलाई उद्यमसँग जोढ्न महोत्सवको आयोजना गरिएको महिला उद्यमी संघ झापाले जनाएको छ । महिला उद्यमी संघ प्रदेश–१ संयोजक गोमा भट्टराईले भ्रमण वर्षलाई खाना महोत्सव मार्फत् प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
खाना महोत्सवमा १ सय रुपैयाँमा ढिँडो, गुन्द्रुक, काँचो चना, सेलरोटी, खीर, अचार, तरकारी, फापरको फुरौला, सिस्नोको सुप लगायतका परिकार राखिएको थियो । महोत्सवको उद्घाटन संंविधानसभा सदस्य मनकुमार गौतमले गरेका थिए । महोत्सवमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड –४का वडाध्यक्ष कुलप्रसाद संग्रौला, लगायतले महिला उद्यमीले सञ्चालन गरेका हरेक गतिविधि प्रशंसायोग्य रहेको र मौलिक, अग्र्यानिक परिकारको स्वाद सबैलाई चखाएको जनाए । महिला उद्यमी संघ झापाकी कोषाध्यक्ष योशोदा चापागाईँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नैनकला भट्टराईले गरेकी थिइन् । महोत्सवमा ४ सय जनाले स–शुल्क मौलिक परिकारसहितको खाना खाएको जनाइएको छ ।