कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६
950

ओरियन्टल पब्लिकेशनको आयोजनामा सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तक एक कार्यक्रमबीच राजधानीमा विमोचन गरिएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका स्रष्टाहरुले आमा उषा थपलियाको पुस्तक ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदाको पुस्तक ‘नवपल्लव’ संयुक्त लोकार्पण गरेका हुन् ।

सोही कार्यक्रममा उषा थपलियाको शव्द र संगीतमा आमा छोरीको युगल गायन रहेको गीत ‘तिमी पाएरै खुल्यो जिन्दगीको अर्थ....’ को भिडिओ समेत लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको प्रकाशित लेखहरुको सँगालो ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदा वाग्लेको सृजना ‘नवपल्लव’ नामक पुस्तकमार्फत सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे । “साहित्यले समाजमा रहेका विकृतिको आवाज उठाउनुपर्दछ, समाजमा तरंग ल्याउनुपर्दछ जुन यी पुस्तकहरुबाट अवश्य पाइनेछ,” नेपालले भने।
कार्यक्रममा प्राध्यापक डा. गोविन्द भट्टराई, सहप्राध्यापक डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार तथा नेपाल प्रज्ञा परिषद प्राज्ञसभा सदस्य लक्ष्मी उप्रेती, कवयत्री, उपप्राध्यापक तथा प्राज्ञसभा सदस्य डा. गिता त्रिपाठी, उप प्राध्यापक ज्ञानु अधिकारी, एलआरआई स्कुलका फाउण्डर ट्रष्टी यशोधरा पन्त, ओरियन्टल पब्लिकेशनका अध्यक्ष हरि गौतम लगायतका स्रष्टाहरुले पुस्तकको समीक्षा गर्दै थपलियाले आजको युगका शिक्षित र सचेत महिलाको अनुभूतिलाई पुस्तकमा समेटेको बताएका छन् ।
प्रौढका लागि समेत उपयोगी सिर्जनाहरुमार्फत सानै उमेरमा आफ्नो लेखन क्षमतालाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेकामा वक्ताहरुले संविदा वाग्लेको प्रशंसा गरे । दुवै पुस्तक ओरियन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । ओजपूर्ण लेखहरु मार्फत उषा थपलियाले नेपालका राष्ट्रिय दैनिकहरुमा स्थापित पहिचान बनाई सकेकी छन्, नीजि अनुभूति, सामाजिक विषयवस्तुका निवन्ध तथा संस्मरण, नियात्रा, कथा लगायत अलग अलग विधाका पूर्व प्रकाशित २६ वटा लेखहरु उनको पुस्तकमा समाविष्ट छ । ७ वर्षको उमेरदेखि लेख्न थालेकी उनकी १५ वर्षीया छोरी संविदा वाग्लेको पुस्तकभित्र पूर्वप्रकाशित ५३ वटा लेखहरु समावेश छ । उनी एलआरआई स्कुलको कक्षा ११ मा पढिरहेकी छन् । म्युजिक भिडियोको निर्देशन गायक तथा संगितकार रिदम कँडेल र सम्पादन राजाबाबु थारुले गरेका हुन् ।