कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६
986

धनगढी - कैलारी गाउँपालिका–५ बन्दरैया मनिराम कुमाललाई माटोको भाँडा मात्रै होइन, आर्सेनिक छान्ने मेसिन पनि माटोकै बनाउन आउँछ ।
गोरुगाडामा माटोका भाँडा राखेर बेच्दै हिँड्ने गरेका उनले पेशा छोडेको चार वर्ष भइसक्यो । प्लाष्टिकको भाँडाको बढ्दो प्रयोगले माटोको भाँडा बिक्नै छाडेपछि उनले पेशा छाडेर गाउँमै खेती मजदुरी गरेर परिवार पाल्न थाले । उनका छोराबुहारीले पनि कोही भारत त कोही धनगढी बसेर मजदुरी गरी जीविका चलाएका छन् ।
बन्दरैयाका ३४ परिवार कुमालहरूको पुर्खेउली पेशा माटोको भाडा बनाउने हो । केही वर्ष पहिलेसम्म ३४ परिवारले नै भाँडा बनाउने पेशाबाट परिवार धानेका थिए । तर अहिले बन्दरैयाका १२ कुमाल परिवारले मात्रै भाँडा बनाउछन् । २२ परिवारले पेशा छोडेका छन् ।
त्यसबेला कैलारी गाउँपालिकाका कुमालहरूले बनाएको माटोको भाँडा धनगढी, टीकापुर, जोशीपुर, भजनी, लम्की, लगायत बर्दियाको राजापुरसम्म पुग्थ्यो । अहिले पनि टीकापुरबाट भाँडा खोज्दै ग्राहक घरमै आइपुग्ने गरेको मनिरामले बताए । “तरपनि एकदमै कम विक्री छ,” उनले भने, “बजारमा पसल राखेर भाँडा बेच्न सक्ने पुँजि हामीसंग छैन ।”
पुर्खेउली पेशा गरिरहेका ति परिवारहरू पनि विकल्पको खोजी गरिरहेका छन् । पेशा छोडेका परिवारले गाउँमै खेती मजदुरी गर्ने गरेका छन् भने ति परिवारका युवाहरू रोजगारीका लागि भारत र धनगढी लगायतका शहर पसेका छन् । “बुढा बुढी खेती किसानी गर्छौ,” मनिरामले भने, “युवाजति मजदुरी गर्न भारत जान्छन् । कोही धनगढी गएर मजदुरी गर्छन् ।”
माटोको भाँडा बिक्री हुन छोडेपछि परिवार धान्न समस्या भएकाले पेशा छोडेको मनिरामले बताए । “भाँडा विक्री हुन पनि छोड्यो,” उनले भने, “भाँडा बनाउनलाई राम्रो माटो र पकाउन दाउरा पनि पाउन छोडेको छ ।”
कुमालेको पुर्खेउली पेशालाई व्यवसायिक बनाउने उद्देश्यले मनिराम लगायतलाई इलमप्लस÷हेल्भेटासले पानी प्रशोधन मेसिन बनाउन सिकाएको छ । पाँच वर्ष पहिले दाङको गढ्वा गएर पानी फिल्टर गर्ने मेसिन बनाउन पाँच दिनको तालीम लिएको र भक्तपुर गएर मेसिन बनाइरहेको अवलोकन गरेको उनले बताए । भक्तपुरबाट उनले केही उपकरण पनि लिएर आए । मनिरामका लागि इलमप्लस÷हेल्भेटासले आधुनिक भट्टी पनि बनाइदियो । फर्केर सयौं मेसिनहरू बनाए । “स्थानीय माटोले बनाएको बलियो भएन,” मनिरामले भने, “माटो पनि बाहिरबाट मगाउनुपर्ने भयो, यहाँको माटोले बनाएको फुट्न थाल्यो । तैपनि धेरै बनाए तर ६÷७ वटा मात्रै विक्री भयो ।”
माटो कमजोर भएकाले बनाएको भाँडा फुट्न थालेको र बिक्री पनि कम हुन थालेपछि पेशा फेरेको मनिरामले बताए । पेशा नै छोडेपछि उनको भाँडा पकाउने आधुनिक भट्टी भत्किन थालेको छ । तरपनि उनलाई पुरानै पेशामा फर्किन मन लागेको छ ।
“वनबाट राम्रो माटो ल्याउने र भाँडा बनाउने चर्का (घुम्ने चक्का) पाएपछि फेरि भाँडा बनाउछु,” मनिरामले भने, “भट्टी भत्किन लागेको छ । यसलाई तत्कालै मर्मत गरेपछि अझै काम लाग्छ । भाँडा बेच्नका लागि गाउँपालिकाले सहयोग गरिदिए हुन्थ्यो ।”
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले लोपोन्मुख लक्ष्यित वर्ग कार्यक्रम अन्तरगत कुमाल समुदायको लागि पनि बजेट विनियोजन गरिएको बताए । उनले छुट्याएको बजेटबाट समुदायले आफूलाई चाहिएको कार्यक्रममा प्रगोग गर्न पाउने व्यवस्था गरिएको बताए । “यही कार्यक्रम गर्ने भनेर बजेटमा तोकिएको छैन,” अध्यक्ष चौधरीले भने, “समुदायले आवश्यकताको आधारमा कार्यक्रम बनाएर गाउँपालिकाको बजेट प्रयोग गर्न सक्ने छन् । पेशा प्रबद्र्धन, सीप विकास, क्षमता अभिबुद्धि लगायत आवश्यक कार्यक्रममा खर्च गर्न सक्ने गरी वडा कार्यालयमार्फत् बजेट कार्यान्वयन हुन्छ ।”
अध्यक्ष चौधरीका अनुसार कैलारी गाउँपालिकामा कुमाल समुदायको जनसंख्या करिब आठ सय छ । कैलारीको विभिन्न वडाहरूमा कुमाल समुदायको वस्ती छ ।
सो कुमाल वस्तीलाई सहयोग गरिरहेको मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले स्थानीय तहको सहकार्यमा कुमाल समुदायको लागि माटोको भाँडा भण्डारण गर्ने सामुदायिक भवन, भाँडा बनाउने चर्खा र आधुनिक भट्टी बनाउन सहयोग गरिने बताए । उनले उत्पादन भएको भाँडाहरू बजारमा बेच्नका लागि समेत सहयोग गर्न पहल गरिने बताए ।
धनगढी लगायतका सुदूरपश्चिमका बजारहरूमा विभिन्न माटोका भाँडा भारतबाट आउने गरेको छ । माटोका भाँडा बेच्ने पसलहरूसंग कुमाल समुदायको उत्पादन पठाउने व्यवस्था मिलाउन सके पेशा जोगाउन सकिने संयोजक चौधरीले बताए ।

 

मुकेश चौधरी