नीरज पिठाकोटे
बिहिवार, मंसिर ५, २०७६
1212

आधाभार (बारा) - पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा निर्माण गरिएको भौतिक पूर्वाधार संरचना र सडक विस्तारहरूले वन्यजन्तुको जैविक मार्ग जोगाउन चुनौती देखिएको छ । पर्सा वन्यजन्तु हुँदै जाने सडकको विस्तार र निकुञ्जको क्षेत्र आसपासमा निर्माण गरिएका राष्ट्रिय गौरवका आयोजनाको भौतिक पूर्वाधार संरचना निर्माणले निकुञ्जका वन्यजन्तुको सहज ओहोर दोहोरलाई असहज बनाइदिएको छ ।
दुई वर्षअघि पर्सा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गरेपछि वन्यजन्तुको संख्यामा वृद्धि भएको र उनीहरूलाई आहारका लागि हिँड्डुल गर्ने पर्याप्त वातावरण नहुँदा असहज अवस्थाको सृजना भएको हो । पर्सा राष्ट्रिय निकुञ्ज हँुदै जाने त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्ग विस्तार, पेट्रोलिय पाइपलाइन र दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, तराई काठमाडौं द्रुत मार्ग जस्ता पूर्वाधार संरचना निर्माणका कारण वन्यजन्तु आवतजावत गर्ने जैविक मार्ग जोगाउन चुनौती देखा परेको छ ।

दुई वर्ष अघिमात्रै स्तरोन्नति भएको राष्ट्रिय निकुञ्ज, रैथाने हात्तिको मुख्य वासस्थान मात्रै नभई दुर्लभ एकसिंगे गैडा र पाटे बाघ पनि पाईने भएकोले वन्जयजन्तु संरक्षणको दृष्टिबाट पनि निकै महत्वपूर्ण छ । तर, पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने स्थानमा भएको भौतिक पूर्वाधार संरचना निर्माणहरूले वन्यजन्तुलाई वातावरण असहज मात्रै होइन, राजमार्गबाटै ओहोरदोहोर गर्ने क्रममा सडक दुर्घटनामा पर्ने जोखिम पनि बढी रहेको प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए ।
सडक विस्तार र पूर्वाधार संरचना निर्माणले वन्यजन्तुको जैविक मार्गलाई सुरक्षित राख्नका लागि आधाभार हुँदै जाने पूर्वपश्चिम राजमार्गमा दुईवटा भूमिगत बाटोको निर्माण गर्नुपर्ने पटक पटक कुरा उठाउँदै आएपनि यस विषयमा सम्बन्धित निकायको ध्यान जान नसकेको प्रमुख संरक्षण अधिकृत महर्जनले बताए । उनले भने, “पथलैयादेखि अमलेखगन्ज सम्मको दूरीमा दुई स्थानमा वन्यजन्तु ओहोर दोहोर गर्ने भूमिगत मार्ग (अण्डर पास) निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।
राष्ट्रिय निकुञ्जको स्तरोन्नतिसँगै क्षेत्र पनि विस्तार भएकोले अहिले निर्माणका लागि प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरिने रुख कटानले पनि वन्यजन्तुको वासस्थान र हिँडडुल गर्ने क्षेत्रलाई असर पारेको छ ।” वन्यजन्तुको वासस्थान र विशेष गरि हात्तीको आवत जावत बढी हुने ठाउँपनि भएकोले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने आधाभारमा दुईवटा, प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने पसाह नदिदेखि पूर्व र पूर्व पश्चिम राजमार्गदेखि दक्षिणमा तीन किलोमिटर देखि पाँच किलोमिटर सम्मको जंगल पनि वन्यजन्तु ओहोर दोहोर गर्ने मार्ग भएकोले पनि त्यसलाई सुरक्षित राख्नुपर्ने सहायक संरक्षण अधिृकत अशोक रामले बताए ।
हात्तीको विषयमा पनि विशेषज्ञता हासिल गर्न अध्ययन अनुसन्धानमा रहेका सहायक संरक्षण अधिकृत रामले टाँगियावस्ती सम्म हात्ती पुगेको प्रमाण भेटिएकोले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउदै हात्तीलाई हिडडुल गर्ने वातावरण नदिए मानव वस्तीमा पस्ने र मानवीय क्षति गर्न सक्नेतर्फ सजग रहनुपर्ने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जमा हात्ती र बाघको बढी मुभमेण्ट हुने देखिएकोले पनि वन्यजन्तुको जैविकमार्ग सुरक्षित राख्नुपर्ने प्रमुख संरक्षण अधिकृत महर्जन बताउँछन् । यी समस्या समाधानका लागि कार्यविधि नै निर्माण भएकोले त्यसको छलफल र राय सुझावका लागि सरोकारवाला कार्यालयहरूमा पनि गएको बताउदै कार्याविधि निर्माणपछि कार्यान्वयनमा सहज हुने बताए । संरचना निर्माण गर्नुपूर्व आवश्यक प्रकृया नपु-याउने र कानुनी अवरोध भयो भने विकास निर्माणमा रोक लगायो भनेर दोष दिने प्रवृत्ति रहेको महर्जनले बताए । उनले भने, “वातावरणीय पक्ष र जंगली जनावरको संरक्षणको दृष्टिले काम भएको छैन । पूर्वाधार निर्माणको क्रममा दिगो विकास लक्ष्यलाई पनि पालना गरेको छैन ।”