कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
702

संखुवासभा - सङ्खुवासभाको चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । चैनपुर सेवा युवा क्लबको आयोजना र नेवाः देय दबु चैनपुर नगर समितिको समन्वयमा लाखेनाच प्रतियोगिता हुने भएको हो ।
संखुवासभाको चैनपुर बजारमा मंसिर ७ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको नेवाः देय दबु चैनपुरका नगर संयोजक पदम शाक्यले जानकारी दिए । जिल्लाको सांस्कृतिक पर्यटन प्रवर्धनका लागि लाखेनाच प्रतियोगिताको आयोजना गर्न लागिएको शाक्यको भनाई छ ।

प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका ४० टिमले नाम दर्ता गराएको चैनपुर समाज सेवा युवा क्लवका अध्यक्ष रञ्जन श्रेष्ठले जनाए । प्रतियोगितामा सहभागिताको लागि प्रदेश १ का सवै नेवा देय दबुहरुलाई पत्राचार गरिसकिएको आयोजक संस्थाका अध्यक्ष रञ्जन श्रेष्ठको भनाइ छ । लाखेनाच संस्कृति सम्वन्धी बिज्ञहरुले लाखेनाच प्रतियोगिताको मूल्यांकन गरि उत्कृष्ट प्रथम द्वितिय र तृतिय टिमको छनौट गरिने बताईएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाण पत्र सहित नगद ५५ हजार ५ सय ५५, द्वितिय हुनेले ३३ हजार ३ सय ३३, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।