कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
788

जुम्ला - मुगुको कार्मारोङ गाउँपालिका ९ का दिनेश बुढा कर्तव्य ज्यान मुद्दाको आरोपमा जुम्ला कारागारमा छन् । १५ वर्षको कैद सजायमध्ये उनले ६ वर्ष काटिसकेका छन् । अझै नौ वर्ष कैद सजाय काट्न बाँकी छ ।
उनले कारागारभित्रै आफ्नो उद्यमशीलता कला देखाएका छन् । गएको एक वर्षदेखि नियमित रुपमा सिलाई बुनाई मार्फत आफ्नो कला देखाइरहेका छन् उनी ।
सिजन अनुसार स्वीटर, टोपी, मोजा, पञ्जा, मफलर, गलबन्दी, धागोको आकर्षक फूल लगायतका सामान उत्पादन कारागारभित्रै गरिरहेका छन् । त्यस्तै दैलेख भैरबी गाउँपालिका ७ का पुर्णप्रसाद आचार्य पनि कर्तव्य ज्यान मुद्दाको २० वर्ष कैद सजाय भोगिरहेका छन् । उनले पनि कारागार भित्र दिनेशले जस्तै विभिन्न सामग्री बुन्छन् । समाजले कैदीको रुपमा नराम्रो नजरले हेरेपनि आफ्नो सीप र उद्यमशीलताले जहाँ पनि कमाउन सकिने आचार्य बताउँछन् ।
कारागारको बन्द संसारभित्र पनि सिलाईबुनाई मार्फत कला देखाएर मनग्य आम्दानी गर्न सफल दिनेश, पूर्णप्रसादको प्रेरणाबाट अहिले ३० जना कैदीहरु दैनिक काममा व्यस्त हुन्छन् । कारागारमा रहेका ८० जना कैदीमध्ये ३० जना कैदीबैन्दी आफ्नो सिप अनुसार धागोका विभिन्न सामग्री बनाईरहेका छन् ।
कैदीहरुले बनाएका सामग्रीहरु कुनै सिप सिकेका उद्यमी भन्दा कम छैनन् । जेलर गयप्रसाद पाण्डे कैदीहरुको जाँगर देख्दा निकै खुसी छन् । कैदीपछिको जीवनलाई एक सफल उद्यमीका रुपमा स्थापित गर्न जुम्ला कारागारका कैदीले आफूलाई सक्षम बनाइसकेको जेलर पाण्डेको भनाइ छ । स्रोतले भ्याएको खण्डमा धागोका सामग्रीमात्र नभई मुढा बनाउने, डोको बुन्ने, गलैचा बुन्ने, राडीपाखी बुन्ने समेत सिप भएका कैदी छन् ।

मासिक एक लाख आम्दानी
सुन्दा अचम्म लाग्न सक्छ, कारागार भित्र लाखौं कमाइ गर्ने काम गर्न सकिन्छ भनेर । तर यो जुम्लामा सत्य हो । ८० जना कैदीमध्ये ३० जना कैदी नियमित धागोबाट बन्ने विभिन्न सामग्री बनाउँछन् । शुरुमा दिनेश र पूर्णप्रसाद मात्रै बनाउँदा मासिक ३० हजारदेखि ३५ हजार कमाउँथे । तर धेरैजना बुन्न थालेपछि सबैका उत्पादनलाई समान रुपमाले बजारमा पु-यार सम्मान कमाइ गरिरहेका छन् ।
हाल सबैको गरी सरदरमा मासिक एक लाख आम्दानी हुने गरेको कैदीका चौकीदार खाम्बा रावतले बताए । उनले भने, “हरेक कैदीको आम्दानी उनीहरुको खातामै राखिदिने व्यवस्था गरेका छौ । ताकी कारागार भित्रको बन्द संसारमा कमाएको पैसाले पछि केहि व्यापार व्यवसाय गर्न सकुन् । कच्चा पदार्थ नेपालगन्जबाट ल्याउनु पर्ने भएकोले ढुवानी खर्चमा बढी जान्छ । जसका कारण आम्दानी कम देखिएको हो ।”
कतैबाट कच्चा पदार्थ खरिदका लागि सहयोग भएको खण्डमा कैदीले मनग्य कमाउन सक्ने छन् । अझैपनि मासिक रुपमा सरदर प्रतिकैदी १० देखि १५ हजार कमाइरहेका छन् । कोहि आफ्नै पैसाले धागो खरिद छन् भने कोहि कारागारले दिने भत्ता बापतको पैसाले किन्ने गरेको चौकीदार रावतले जानकारी दिए । कारागारमा चौकीदार भएको तीन दशकपछि यति उर्जा र जागर सिप भएका कैदी भेटेको चौकीदार रावतको भनाइ छ ।

माग बढ्दो
कारागारमा कैदीले बनाएका सामग्री अधिकांश सिधै नेपालगन्ज निर्यात हुने गरेको छ । जहाँबाट धागोे आउँछ, त्यहि उत्पादित सामान जाने गरेको हो । तर पछिल्लो समय कैदीका सामग्रीले जुम्लामा पनि बजार पाएको छ । “अर्डर अनुसार मात्रै बनाउँछौ,” कैदी दिनेशले भने, “पछिल्लो समय कैदीका उत्पादनमा होटल व्यवसायीको आकर्षण बढेको छ ।”
होटलका बेडरुममा राख्ने लेस, टेबुलमा राख्ने धोगोले बनाइएको फूलले बजार पाएको उनको भनाइ छ । “पहिला बजारको चिन्ता थियो । अहिले कसरी बढि उत्पादन गर्ने चिन्ता छ । कारागारमै आएर अर्डर दिन्छन्, निकै राम्रो बनाउनु हुन्छ, तपाईहरुको कला उत्कृष्ट छ, पछि गएर यसकै व्यवसाय गर्नुहोला भनेर कसैले भन्दा निकै आनन्द आउँछ,” कैदी पूर्णप्रसाद आचार्यले अनुभव सुनाए । हिउँद लागेकोले टोपी, मोजा, गलबन्दीको अर्डर आएको छ ।

आफ्नै उद्योग खोल्ने योजना
जुम्ला कारागारमा रहेका ८० जनामध्ये ३० जना दैनिक विभिन्न सामग्री बनाउँछन् । ३० जनामध्ये करिब १५–२० जना एकदुई वर्षमा छुट्दैछन् । उनीहरुले बनाएको उत्पादित सामग्रीहरुको माग बढ्दै गएको, अर्डर दिनेहरुले प्रोत्साहन गरेकोले पनि बाहिर गएपछि आफ्नै उद्योग संचालन गर्ने बताएका छन् । ऋण जोहो गरेर पनि आफ्नै ठाउँमा केहि गर्नका लागि आफ्नै व्यवसाय संचालनको सोच बनाएको कैदी पूर्णप्रसाद आचार्यले बताए । उनका अनुसार केहि साथीहरुले बाहिर निष्केपछि सामूहिक रुपमा व्यवसाय संचालनको योजना बनाएका छन् ।

सरकारले कैदीलाई ढाँट्यो
कर्णाली प्रदेशका कानुन मन्त्री जुम्ला आउँदा कैदीबन्दीको क्षमता विकासका लागि आवश्यक तालिम दिने आश्वासन दिएका थिए । सोहि अनुसार प्रदेश सरकारले कर्णालीका १० वटै जिल्ला कारागारका लागि १ लाखका दरले बजेट छुट्याएको बताएको छ । तर कैदीबन्दी हालसम्म कुनै तालिम नपाएको बताउँछन् । स्थानीय तहले पनि आश्वासनमात्रै दिने तर सहयोग नगरेको गुनासो छ ।
कारागार भित्रबाटै सयौं ग्राहकहरुको माग पूरा गरिरहँदा पनि सरकारले आवश्यक क्षमता विकासका लागि सहयोग नगर्दा समस्या भएको जलेर गयप्रसाद पाण्डेले बताए । तर पातारासी गाउँपालिकाले कैदीबन्दीले घर फर्किएर व्यवसाय गरेको खण्डमा विशेष अनुदान दिने पातारासीका अध्यक्ष लछिमन बोहोराले बताए ।