घनश्याम पौडेल
बिहिवार, कार्तिक २८, २०७६
699

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्गलामा बैकुण्ठपुरी संग्रहालय स्थापना भएको छ । वाङ्गलाको आमडाँडामा स्थापित संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएका छन् ।
पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री संग्रहालयमा छन् । जेष्ठ नागरिक जिल्ला संघले बनाएको संग्रहालयमा कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी राखिएको छ । उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने झातो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दुध निकाल्ने डाडु, काठका चप्पल लगायतका वस्तु संग्रहालयको मुख्य आकर्षणको रूपमा रहेको अभियान्ता नीमबहादुर रिजालले बताए ।

पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका रिजालले भने, “बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र भावी पुस्तालाई सो कुराको जानकारीसमेत नहुने भएकाले संग्रहालय बनाएर पुराना वस्तु संकलन गरिएको हो ।” पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैंटो, भजनमा बजाउने खैंजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने, हुका, चिलिम, पुराना टेप रेकर्ड, भोटे ताल्चा, दाउ, बाँसको काँगियोलगायत थुप्रै वस्तु संग्रहालयमा राखिएको छ ।
रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फूल पनि आकर्षणको केन्द्रको रूपमा रहेका छन् । बैकुण्ठपुरी संग्रहालयको बिहीबार प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे । उद्घाटन गर्दै पुरातात्विक सामग्रीको संरक्षण भएको उनले बताए । उनले पुराना सामाग्रीहरुको संरक्षणका लागी यो कार्य राम्रो भएको बताए । पुराना घरेलु सामग्रीहरु अर्घाखाँची जिल्लामा लोप हुदैँ गएका छन् । विगत ३-४ वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा संकलन गरी रिजालले संग्रहालय बनाएका हुन् ।