सागर परियार
बिहिवार, कार्तिक २८, २०७६
722

जुम्ला - भाषा–संस्कृति र परम्पराको हिसाबले कर्णाली भरिपूर्ण छ । घरघरमा कलाकार र कलाकारिता छ । त्यतिमात्र नभई धार्मिक आस्थाका एतिहासिक धरोहर कर्णालीमा थुप्रै छन् । तीमध्ये एक हो, कर्णालीको मष्टो सस्ंकृति । अहिले पनि कर्णालीमा जीवित छ यो । खस जातीका कुल देवताका रुपमा लिइने (मष्टो देवता) कर्णालीबासीका घरघरमा छन् । इतिहासअनुसार मष्टो सस्ंकृतिको उद्गम स्थल समेत कर्णाली प्रदेशको जुम्लालाई मानिन्छ ।
पछि भारतको कुमाउ गड्वाल हुँदै नेपालका बझाङ, बाजुरा, डोटी डडेलधुरा, अछाम लगायतका जिल्लामा मष्टो प्रचलन शुरु भएको पाइन्छ । छैटौँ शताब्दीमा खस जातिको अस्तित्व कर्णालीमा देखिन्छ । त्यसको ४०० वर्ष अघि जुम्लाबाट गई कुमाउँ गडवालमा खस जातिले राज्य गरेको देखिन्छ । त्यसैले जुम्लाबाट जहाँ गएपनि त्यहि रहेका खस जातीले मष्टो देवता पुज्ने गर्छन् । जुम्लाबाटै सुदूरपश्चिमभरि खस जातिसँगै मष्टा देवताको पूजा गर्ने चलन शुरु भएको संस्कृतिविद् रमानन्द आचार्य बताउँछन् ।
उनका अनुसार हिन्दू धर्मका ठकुरी, बाहुन, क्षेत्री, सन्न्यासी, कामी, दमाई, सार्की गन्धर्व, वादी, राउटे लगायतका जातीहरू कुलदेवताको रुपमा मष्टोको पूजाआजा गर्दछन् । नेपाली भाषाको उद्गम स्थल जुम्लामा मष्टो संस्कृतिको एतिहासिक महत्व छ । मष्टोले पश्चिम नेपालको खस संस्कृतिमा गहिरो प्रभाव पार्दै आएको छ ।
बझाङ्ग, बाजुरा र अछाममा मष्टो संस्कृति अनुसार चैतली मेलामा (कसु कसु देवले उपायो चैतल मष्टा गोसाई, देवले इन्द्र चैतल पाई) भन्ने फाग गाएको पाइन्छ । जो सुर्ति साईको संवत १५४७ देखि १६२४० को एउटा कागजमा मष्टो शब्दको उल्लेख छ । यसैलाई विद्वानले मष्टोको सबैभन्दा पुरानो अभिलेख भनी मानेको समेत संस्कृतिविद आचार्यको भनाइ छ ।
जुम्लामा हरेक दुई महिनाको अन्तरमा मष्टो मेला लाग्छ । आफूले चाहेको पूरा होस् भनेर फूल अक्षता चढाउने भन्दा आफूले चाहेको सोचेको पूरा भएको खुसीमा मष्टो देवतालाई खसी बोका चढाउने भक्तजनहरूको ताँती बढी हुन्छ । कर्णालीको मष्टो संस्कृति हिन्दू धर्म मान्ने सबैको पहिचान पनि हो । संस्कृतिविद् रमानन्द आचार्य भन्छन्, “मष्टो संस्कृति कर्णाली त्यसमा पनि जुम्लाकै मौलिक पहिचान हो । हाम्रा पुर्खाहरूले मष्टो देवताको आस्थामा सिंजा राज्य प्राप्तिदेखि युद्धमा विजय प्राप्त गरेका छन् । पछिल्लो समय भारतका विभिन्न ठाउँमा नेपालको पूर्व तथा सुदूरपश्चिममा मष्टो संस्कृतिको चलन शुरु भएपछि समग्र हिन्दूहरूको पहिचानका रुपमा रहेको पाइन्छ । तर मष्टो सस्ंकृति कर्णालीबाटै शुरु भएकोले यसको महत्व जुम्लामा विशेष छ ।”

मष्टो देवताको एतिहास
मष्टो संस्कृतिबारे आजसम्म लेखिएका कृतिहरूमा सबैभन्दा बढी प्रमाणिक कृति मष्टो संस्कृति र परम्परा भन्ने पुस्तकका लेखक श्यामबहादुर खड्काले मष्टो इन्द्रका छोरा जयन्त भनी ठोकुवा गरेका छन् । त्यस्तै लेखक श्यामबहादुर खड्काद्वारा लिखित ‘मष्टो संस्कृति र परम्परा’ नामक पुस्तकमा मष्टो देवतालाई भगवान इन्द्रको छोरो जयन्त नै भनिएको छ । तर, कतिले यिनलाई पाण्डवको सन्तान हो पनि भन्छन् ।
इन्द्रकी पत्नी सचीलाई मन्डालिनी पनि भनिने र यिनै मन्डालिनीलाई सम्झेर मष्टो मन्डाली र अछाममा मष्टो बन्डाली पनि भन्ने गरिएको छ । लेखक डा. प्रयागराज शर्माका अनुसार मष्टोलाई कर्णाली प्रदेशको अत्यधिक लोकप्रिय ग्राम देवता मानिन्छ । मष्टो र खसभाषाको अन्तर सम्बन्ध रहेको बताइन्छ । विद्धानहरूका फरक फरक धारणाले मष्टोलाई व्याख्या गरिए पनि खासगरी कर्णालीमा १२ भाइ मष्टो र नौ दुर्गा भवानी रहेको सस्ंकृतिविद् रमानन्द आचार्यको दाबी छ ।

अचम्मको दैविक शक्ति
तत्कालिन माओवादीले २०५८ सालतिर जुम्लामा देवता नमान्ने भन्दै मन्दिरहरू भत्काउँदै हिँडेको थियो । स्थानीय रवि बुढा भन्छन्, “त्यहि बेला बाबिरा मष्टका धामी बल बुढाले आफ्नो दैनिक नृत्य कर्म गरिरहेका थिए । माओवादीका केहि सेनाले उनलाई घेरेर धम्काए । कि गोली हान्छौं कि हामीले भनेजस्तै शक्ति देखाउ भनी परीक्षा लिएछन् । पहिलो परिक्षा (सिकापाती) भनेको कालो टिका निकालेछन्, त्यसपछि (सालिमार) निकालेछन् । तताएको रातो पुनिउसमेत चाटेको एतिहास उनले सुनाए ।” पछि माओवादीले मन्दिरलाई छुन समेत छोडेको गियो ।

को हुन् १२ भाइ मष्टो ?
योगी नरहरिनाथ, बालकृष्ण पोखरेल, प्रेम कैदी र कर्णाली सेतीका लेखकहरूबाहेक अन्यले मष्टोलाई मष्ट, मस्त वा मष्टा लेख्ने जस्ता भ्रमपूर्ण शब्दावली प्रयोग गरेको देखिन्छ । यस्तै मष्टोको संख्याबारे पनि विद्वानहरूमा अहिले पनि विवाद भइरहेको पाइन्छ । तर मष्टो संस्कृति र परम्परा भन्ने पुस्तकको पाना ४०३ मा मष्टो देवता १२ रहेका छन् । उनका बहिनी ९ जना रहेका छन् ।
कर्णालीमा अहिले पनि भव्य पूजाआजाका साथ मनाउँदै आएका छन् । जुम्ला पाण्डुसेरामा अपि मष्टो, खापर मष्टो, बाबिरो मष्टो, कवा मष्टो, ढँडार मष्टो, काला मष्टो, मण्डली मष्टो, दाडे मष्टो, दाह्रे मष्टोलगायत १२ वटा मष्टो रहेका छन् भने गुरुमष्टो र विजय मष्टोलाई देवताका भाइराजा मान्निछ । जो जुम्लाको तातोपानी ३ लिताकोटमा छ भने हुम्लाको सोरुदरा गाउँमा रहेको छ ।

जुम्लामा मष्टो मेलाको रौनक
ष्टो देवताको उद्गम स्थल जुम्लामा वर्षको चार पटक मष्टो मेलाको धाम हुन्छ । वैशाख पूर्णिमा, साउन, पूर्णिमा, कात्तिक पूर्णिमा र माघ पूर्णिमामा विशेषगरी जुम्लामा मष्टो मेला लाग्छ । मष्टो देवताले कात्तिक र वैशाख पूर्णिमामा बली खान्छन् भने माघ पूर्णिमामा धर्मी महिना भनेर रगत समेत हेर्दैनन् ।
मष्टो मेलामा पञ्चेबाजाको तालमा मष्टो देवता आउने व्यक्तिहरू धामीका रुपमा प्रस्तुत हुन्छन् । जुम्लाको सिंहाचौर बाबिरा, जर्मी, सुन्दरगाउँमा मष्टो देवताको पूजा हुन्छ । हजारौको संख्यामा उपस्थित भक्तजनहरूले प्रत्यक्ष रुपमा मष्टो देवतासँग बर माग्छन् । हरेक मष्टो मेलामा भक्तजनको लर्को हुन्छ । वर दिनै धामीलाई भ्याईनभ्याई हुन्छ ।
जुम्लामा सबैभन्दा ठूलो मष्टा बाबिरा मष्टो छ । त्यसका मूलधामी बलहादुर बूढा हुन् ।

एक हजार खसी बली चढाइयो
कात्तिक २६ गते जुम्लाभरी नै मष्टो मेला लाग्यो । विभिन्न समयमा आफ्नो मनको इच्छा पूरा गर्न वर मागेका, सरकारी जागिरको लागि वर मागेका, प्रहरी बन्न, व्यवसाय सफल हुन, यात्रा सफल हुन कामना गरेका भक्तहरूले मष्टोको नाममा बली दिन्छन् । जुम्लाभरी गरी करिब एक हजार खसी बोका बली चढाइएको हुन सक्ने बाबिरा मष्टोका पुजारी गणेश बुढाले बताए ।
हजारौको सख्ंयामा भक्तजन र खसी बोका, कुखुरा ल्याएर आउँछन् । ल्याएका कुनै खसीबोका खान्छन् भने कुनै खुसी बोका कुखुरालाई मन्दिरमा छोड्छन् । भक्तजनहरूको बढ्दो आस्थाकै कारण मष्टो सस्ंकृति कर्णालीमा अहिले पनि यथावत् छ ।