सागर परियार
बिहिवार, कार्तिक २१, २०७६
371

जुम्ला - तातोपानी गाउँपालिका–२ का गोरे चनारा ढाल नाचका नाइके थिए । विभिन्न अवसरमा विजय उत्सवका रुपमा नाचिने ढाल नाचलाई चनारा जहाँ पनि प्रस्तुत गर्थे । उनको उमेर ढल्किँदै गएपछि छोरा चैते चनाराले सिके ढाल नाच । खस सभ्यता र शक्तिशाली खस राज्यको सफलताको प्रतिक ढाल नाचलाई गोरे चनाराका छोरा चैते चनाराले पनि केहि वर्ष निरन्तरता दिए ।
तर, अहिलेको पुस्ताले सिक्न चाहेन यो नाच । उनको मुत्यु पश्चात् चैते चनाराका छोरा परान चनारा, भैरव चनारा कसैले ढाल नाचलाई प्राथमिकता दिएनन् । तर यसको महत्व भने अहिले पनि उत्तिकै छ । ढाल नाच विशेषगरी काठ काम गर्ने गर्ने चनारासँग सम्बन्धित छ । काठका तरबार, ढाल बनाएर विभिन्न ठाउँमा पञ्चेबाजाको तालमा प्रदर्शन गरिने कर्णालीको मौलिक ढाल नाच अहिले संकटमा छ ।

दशकौंपछि देखियो ढाल नाच
बायाँ हातमा ढाल, दायाँ हातमा तरबार, सेता दौरा सुरुवाल, टाउकोमा फेटा, कम्मरमा पटुकी र गोर्खाली खुकुरी राखी पञ्चेबाजाको तालमा लस्करै लागेर नाचिरहेको देख्दा अहिलेका पुस्ताले ठम्याउनै सकेनन् । हातमा ढाल र तरबार लिएर दमाहाको तालमा नाचिने ढाल नाच भब्य लडाइँको तयारी भैरहेको वा लडाइँ जितेर विजयी नाच नाचिरहेको जस्तो दर्शकहरूले अनुभूति गरे ।
स्थानीय दिपेन्द्र उपाध्यायलगायत खुसी भए सिंजा पर्यटन महोत्सवमा दशकौंपछि ढाल नाच देख्दा । खस भाषाको उद्गम स्थल सिंजामा कनकासुन्दरी गाउँपालिकाले कात्तिक ८ देखि १० गते सम्म पहिलो खस सांस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको महोत्सवमा ढाल नाच जस्तै दशकौँदेखि लोपोन्मुख नाचहरू प्रदर्शन गरियो ।
पञ्चेबाजा, ढाल नाच, मागल, रतेडी, बालो नाच, हुड्के नाच, धामी नाच, सिंजा राज्य प्राप्तिका लागि भएको युद्धको विजयीको नाटक लगायतका प्रस्तुति देखाउँदा सिंजा सभ्यता झल्कियो । महोत्सवमा आगन्तुक कलाकार भन्दा मौलिक सांस्कृतिक नाचहरूलाई प्राथमिकता दिएर सिंजा सभ्यतालाई जिउँदो बनाउने प्रयास गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले बताए । उनले भने, “सिंजा राज्य २२ राज्यमध्ये शक्तिशाली राज्य हो । राज्य एकिकरणको युद्धमा गोर्खाली सेनाले जितेको विजयी उत्सवमा ढाल नाचलाई लिइन्छ । कर्णालीका मौलिक संस्कृति संरक्षणका लागि पनि महोत्सव गरिएको हो ।”

यसरी नाचिन्छ ढाल नाच
ढाल र तरबार खेलाएर नाचिने नाच ढाल नाच हो । यो पञ्चेबाजाको तालमा नाचिन्छ । लस्करै लागेका कलाकारहरूले अगाडि लागेको नाइकेले गरे जस्तै पछिका सहायकहरूले गर्छन् । कतिबेला नाचिन्छ भने बाजाकै ताल अनुसार युद्धमा दुस्मनसँग लडाइँ गर्दा गरिने प्रहार र प्रतिकार्य समेत गरेर देखाइन्छ ।
मंसिर औंसीदेखि यो नाचलाई पर्वका रुपमा नै मनाइने गरेको भूवासम्बन्धि जानकार भिम बहादुर शाहले बताए । औसीदेखि पूर्णिमासम्म देखाइ यो नाचको सुरुवात मुडा पमेलेर र नाचमा प्रयोग गरिने हतियार ढाल, तरवारको पूजा गरी नाचिन्छ । नाच्ने कलाकारलाई हौसला समेत दिने गरिन्छ ।
हेर्ने दर्शकलाई मज्जा आए पनि ढाल नाच प्रस्तुत गर्न सजिलो भने छैन । स्थानीय रमेश न्यौपानेले भने, “नेपालीको पहिचानसँगै जोडिएका मौलिक संस्कृति लोप हुँदै गएपछि सिंजा सभ्यता पनि संकटमा पर्दै जाने खतरा देखिएको छ ।”
सिंजा महोत्सवमा उपराष्टपति नन्द बहादुर पुनले विश्वमा ग्रिस सभ्यता जस्तै नेपालमा सिंजा सभ्यताको महत्व रहेको उल्लेख गरे । सबैले एकपटक पुग्नै पर्ने सिंजाका मौलिक संस्कृतिलाई बचाइराख्न राज्यले लगानी गर्नसमेत उनले जोड दिएका थिए ।

ढाल नाचको एतिहास
ढाल नाचको एतिहासलाई दुई तरिकाले विश्लेषण गर्ने गरेका छन् । एकथरी अर्थात् कर्णाली बासीले खस शक्तिशाली राज्य प्राप्तिका लागि शताब्दी पहिले गरिएको युद्धमा भएको जीतको विजय उत्सवको सम्झनामा ढाल नाच नाचिने तर्क दिन्छन् भने एकथरीले द्धापर युगमा पाण्डव र कौरवको लडाइँ हुँदा आफ्नो सुरक्षा आफैले गर्नको लागि हातमा ढाल र तरवार समाति लडाइँ जित्नको लागि खेलिएको खेललाई ढाल नाच भनिने गरिएको किम्बदन्ती रहेको बताउँछन् ।
साथै सो लडाइँमा पाण्डवले विजयी गरिसकेपछि पनि विजय जुलुसमा समेत ढाल नाच देखाइएको धार्मिक मान्यता रहेको बताउँछन् । तर जुम्लाका संस्कृितविद् रमानन्द आचार्यका अनुसार १२ सय वर्ष पहिले सिंजा राज्य प्रािप्तका लागि गरिएको लडाइँ जितेपछि विजय उत्सवका रुपमा ढाल नाचको शुरुवात भएको हो । तरनिरन्तरताको अभावले संकटमा परे पनि ढाल नाचको एतिहास, महत्व अहिले पनि जिवित रहेको उनले स्पष्ट पारे ।
चनारा जाति काठको काम बढी गर्ने र ढाल र तरबार बनाउने भएकोले ढाल नाच चनारा जातिसँग सम्बन्धित छ । कुनै बेला चनारा जातिको जीवन निर्वाहको पेशा पनि थियो यो ।

पुस्तान्तरणमा चुनौती
कर्णालीको मौलिक संस्कृतिमध्येको एक हो ढाल नाच । पहिला बाउबाजेले नाच्दै आएको ढाल नाच जोगाउनु भन्दा पुराना ढाल तरबार पनि कति बेचेर खाइसकेका छन् । पहिलाकाले सिकाएनन्, अहिलेका युवा सिक्न चाहँदैनन् । स्थानीय कवि चनारा भन्छन्, “ढल नाच नयाँ पुस्तामा पुस्तान्तरण गर्न चुनौतीपूर्ण रहेको छ । विजय उत्सवका रुपमा देखाइने ढाल नाचलाई हस्तान्तरण गर्न सम्भव छैन ।”
केहि सिकेका मान्छे बुढापाका छन् । कोहि सिक्न चाहे पनि सामग्री बनाउने सिप छैन । पुर्खाहरूले देखाउँदै आएको ढाल नाचलाई निरन्तरता दिन अहिलेको पुस्ताले चासो देखाउनु पर्ने भएको छ ।
युवा लालचन्द्र चनारा भन्छन्, “सिक्ने रहर छ । तर सिकाउने नाइके, सिकाउने आवश्यक सामग्री बाजा बजाउने दमाई कोहि छैनन् । रहर भएर पनि चुप बस्नु परेको छ ।”

स्थानीय तहको चासो
सिंजा सभ्यतासँग जोडिएको ढाल नाच संरक्षणमा योजनासहित अघि बढ्ने कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । उनले भने, “खस सिंजा सभ्यताको पहिचान ढाल नाच हो । पछिल्लो पुस्ताले चासो नराखे पनि यसका पहिरन निर्माण हुन लागेको संग्रहालयमा राख्छौं,” उनले भने ।
सामग्री व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजनदेखि युवा पुस्तालाई सिकाउनका लागि बुढापाकासँग छलफल गर्ने उपप्रमुख उर्मिला भण्डारीले बताइन् । संस्कृति संरक्षणमा नजुटे पछि आउने पुस्ताले संरक्षणका नाममा विकृति पैmलाउने समेत चिन्ता उपाध्यक्ष भण्डारीको छ । ढाल सिंजा मात्र नभई जुम्लाका आठै तहमा नाचिन्छ ।