कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
351

इलाम सूर्योदय नगरपालिकामा रहेको देशकै एकमात्र लाप्चा संग्रहालय बेवारिसे अवस्थामा पुगेको छ । भवन मात्र निर्माण भएर अन्य काम नभएपछि संग्रहालय बेवारिसे अवस्थामा पुगेको हो ।
पाँच वर्षभन्दा अघिदेखि इलामको सूर्योदय नगरपालिका ४ श्रीअन्तुस्थित उत्तरेमा निर्माण शुरु भएको लाप्चा संग्रहालय रकम अभाव भएका कारण निर्माण सम्पन्न हुन सकेको छैन । एल आकारको एकतले दुई कोठे निर्माणाधीन पक्की भवनको ढोका, प्लाष्टर र रङ्गरोगन गरिएको छैन ।

दुईकोठामध्ये एउटा ठूलो र एउटा सानो छन् । भवन सम्पन्न गर्नका लागि बीचका वर्षहरुमा कतैबाट पहल भएन । बीचमा पुरातत्व विभागमा भवन निर्माण सम्पन्न गरी संग्रहालय सञ्चालन गर्न प्रस्ताव गरिएको भए पनि जग्गाको स्वामित्व व्यक्तिगत भएका कारण पुरातत्व विभागले पनि सहयोग नगरेको वडाध्यक्ष मधुसुधन लामिछानेले बताए ।
उक्त जग्गा अहिले उमेशकाजी लाप्चाका नाममा छ । संग्रहालय सञ्चालन गर्ने लाप्चा समुदायको संस्था रोङ सेजुङ ठीको अन्तुस्थित वडा समिति कहिँ कतै दर्ता नभएका कारण उक्त जग्गा हालसम्म ठीको नाममा नामसारी हुन नसकेका कारण पनि समस्या भएको बताइएको छ ।
आगामी मंसिरमा अन्तुमा महोत्सवको तयारी गरिएको छ । सो महोत्सवसम्ममा संग्रहालयको काम सम्पन्न लक्ष्य गर्ने तयारी थालिएको उमेशकाजीले वताए । उनका अनुसार महोत्सव अघि नै जग्गा संस्थाका नाममा नामसारी गर्न तयारी गरिरहेको र वडा कार्यालयको बजेटबाट भवन मर्मत गरेर संग्रहालय सञ्चालनका लागि पनि पहल भइरहेको छ । उनका अनुसार उनकै बुबा स्वर्गीय जगतबहादुर लाप्चाको पहलमा संग्रहालयको शुरुवात भएको र बुबाकै संरक्षणमा रहेका धेरै सामग्री आफ्नै घरमा रहेकोले ती सामान पनि संग्रहालयमा राख्न सकिन्छ ।
जगतबहादुर लाप्चा समुदायका अग्रज मानिन्छन् । उनले यसअघिका अन्तु महोत्सवका अवसरहरुमा लाप्चा सामग्री सङ्कलन गरेर घरमै संग्रहालयको रुपमा अन्तु आउने पर्यटकहरुलाई अवलोकन गराउँदै आएका थिए । उनको मृत्युपश्चात निर्माणाधीन संग्रहालय भवनसमेत निर्माण रोकिएको अवस्थामा छ ।
नगरपालिकाले पनि अब एक महिनामा संग्रहालय सञ्चालनमा आउने बताएको छ । महोत्सवमा आगन्तुक पर्यटकलाई संग्रहालयमा लाप्चासम्बन्धी सामग्री अवलोकन गराउन संग्रहालय सञ्चालनमा ल्याउन लागिएको हो ।
चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् यही कात्तिक महिनाभित्र काम सम्पन्न गर्नेगरि निर्माणाधीन भवनको झ्याल ढोका तथा प्लाष्टर र रङ्गरोगनका लागि सूर्योदय नपा ४ नम्बर वडा कार्यालयमार्पmत एक लाख रुपैयाँ छुट्याइएको छ । उक्त बजेटले उल्लेखित काम सम्पन्न गरेपछि उपलब्ध सामग्री सो भवनमा राख्ने र महोत्सवमा अवलोकन गराइने तयारी गरिएको हो ।
वडा अध्यक्ष मधुसुदन लामिछानेका अनुसार महोत्सवसम्ममा भवन मर्मतसम्भारको काम भइसक्नेछ । त्यसपछि त्यहाँ सामग्री राखिने उनको भनाइ छ । लामिछानेकै अनुसार उक्त भवन यसअघि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको पहलमा करिब छ वर्षअघि निर्माण थालिएको हो । लाप्चा समुदाय नेपालको सूर्याेदय नगरपालिकामा मात्र बसोबास गर्दछन् ।
उनीहरुका पुराना वस्तु संकलन गरेर निर्माण गरिएको संग्राहालयमा तिनै वस्तु राखिने छ । उनीहरुले हाल प्रयोग गरिरहेका केही वस्तु पनि सो संग्रहालयमा राखिने उनीहरु बताउँछन् । संग्रहालय हेर्नकै लागि आउने धेरै पर्यटक हाल त्यसै फर्किने गरेका छन् । पर्यटकलाई अवलोकन गर्न र यस सम्वन्धि खोज अनुसन्धान गर्न पनि संग्रहालय सम्पन्न भएपछि सहज हुने अनुमान गरिएको छ । त्यसैले पनि नगरपालिकाले यसलाई सम्नन्न गर्न तत्परता देखाउनु पर्ने उनीहरु बताउँछन् ।

टीका खतिवडा